
सुनाखरी न्युज/ काठमाडौं ।
आज हरितालिकाका तीज । पशुपतिनाथ लगायतका देशभरिका शिवालयहरूमा व्रतालुहरूको बिहानैदेखि ठूलो भिड लागेको छ ।
व्रतालुहरूको सहजताका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ । लाइनमा बसेको आधा घण्टामा व्रतालुले पशुपतिनाथको दर्शन गरेर फर्कन सक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपतिनाथको दर्शनपछि व्रतालुहरू तीजका गीतमा नाचगान गर्दै रमाइरहेका छन् ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा व्रत बसी शिवको पूजा गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायु होस् भन्ने कामनासहित व्रत बसेर शिवको पूजा गर्ने चलन छ ।
आज पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मीका साथै २४ वटा धार्मिक एवं सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक खटाइएको कोषले जनाएको छ ।
पशुपति लगायत काठमाडौंका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने वसन्तपुर दरबार क्षेत्रस्थित मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वरलगायत महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनहरूको लाम लागेको छ ।