२०८३ भदौ २६ , शुक्रवार

गरिमा चौधरी हत्या प्रकरणः दुई नाबालक बाल सुधार गृहमा पठाइयो, अरु आरोपित छुटे

WhatsApp-Image-2026-08-24-at-11.37.06-AM

सुनाखरी न्युज/ काठमाडौं ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका १० जना आरोपितलाई बारा जिल्ला अदालतले रिहा गर्न आदेश दिएको छ। सामाजिक सञ्जालमा सबै आरोपीहरु छुटेको चर्चा चले पनि अदालतले दुई मुख्य आरोपीलाई छोड्ने आदेश नदिएको पुष्टी भएको हो । अदालतले उनीहरूविरुद्ध पर्याप्त र ठोस प्रमाण नदेखिएको भन्दै यस्तो आदेश दिएको हो।

पीडित बालिकाका बुवा मनोज चौधरीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई अपहरण, जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अदालतमा पेस गरेको थियो। अदालतको आदेशपछि उनीहरू बिहीबार साँझ हिरासतमुक्त भएका छन्।घटनालगत्तै पक्राउ परेका १६ बर्षिय बालकले अपराध स्वीकार गरेका थिए । अस्पतालमा उनीसँग चिकित्सकले गरेको सोधपुछको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

उनको बयानका आधारमा प्रहरीले केही दिनपछि अर्का १४ वर्षिय बालकलाई पनि पक्राउ गरेको छ । उनले भने आफू घटनामा संलग्न नरहेको बयान दिएका छन् । बालिकाको शव भेटिएकै दिन पक्राउ परेका बालकले बालिकालाई चकलेट खुवाएर बलात्कारपछि हत्या गरेको बयान दिएका छन् । उनको बयान घटनास्थल र शवको अवस्थासँग मेल खाएपछि प्रहरीले घटनामा उनको संलग्नता रहेको निष्कर्ष निकालेको थियो ।

अदालतले दुवै नाबालकलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म बाल सुधारगृहमा राख्ने आदेश गरेको हो ।प्रहरीका अनुसार तीमध्ये एक नाबालकले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको र उनको बयान घटनास्थल तथा अन्य प्रमाणसँग मिलेको छ। घटनामा एक जना आरोपित अझै फरार रहेको जनाइएको छ। फरार आरोपितको खोजी तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गत साउन ३१ गतेदेखि हराएकी बालिकाको शव भदौ २ गते घरनजिकैको खाली घरमा भेटिएको थियो। घटनापछि देशभर विरोध प्रदर्शन भएको थियो।