
सुनाखरी न्युज/ काठमाडौं ।
जलस्रोत मन्त्रालयले उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ ।यसमा नदीमा बनेका अवरोध ( ब्यारियर ) तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी जानकारीसमेत समेटिने चिनियाँ दूतावासले जानकारी दिएको छ ।
चीनका मौसमसम्बन्धी अधिकारीहरूले केरुङ–रसुवा सीमा क्षेत्रमा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्वसूचना तथा त्यसबाट पर्न सक्ने प्रभावसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएका छन्।
विपद्पछि चीनको मौसम प्रशासनले तत्कालै नेपालको मौसम विज्ञान विभागसँग भिडियोमार्फत मौसमको अवस्था तथा सम्भावित जोखिमबारे परामर्शसमेत गरेको थियो।
दुवै देशबीच आपतकालीन मौसम तथा जलविज्ञानसम्बन्धी सूचना आदानप्रदानले विपद्को पूर्वानुमान, पूर्वसूचना तथा उद्धार र राहत व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।