
सुनाखरी न्युज/ काठमाडौं ।
नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । मान्यजनबाट देवीको प्रसादका रूपमा आज टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ । समितिले देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरेको छ ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेहरूका लागि बिहान १०:२६ बजेको समय तोकिएको हो ।
समितिका अनुसार साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्ने छ ।
दशैंमा नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्ने परम्परा छ । यस अवसरमा परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा भेला भई मान्यजनबाट आशीर्वाद लिने गर्छन् ।