
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एकै दिन ६० करोड २ लाख रुपैयाँ संकलन भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सोमबार चेक हस्तान्तरण गर्दै विभिन्न ८३ उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिले उक्त रकम सरकारलाई उपलब्ध गराएको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको हो ।
‘उद्धार कोषका लागि अर्थ मन्त्रालयमार्फत भौतिक रूपमा सहयोग रकम संकलन गर्न सरकारले ११ भदौदेखि सुरु गरेको थियो । त्यसयताकै सबैभन्दा धेरै रकम सोमबार अर्थ मन्त्रालयमार्फत प्राप्त भएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘अर्थमन्त्री स्वर्णिम वाग्ले र निमित्त अर्थ सचिव उत्तर खत्रीमार्फत दाताहरूले हस्तान्तरण गरेको चेकको कुल रकम ६० करोड २ लाख २० हजार छ ।’
११ भदौमा २७ करोड ३३ लाख रुपैयाँ, १२ भदौमा ३८ करोड ६० लाख ६४ हजार रुपैयाँ, १४ भदौमा ४ करोड ७९ लाख रुपैयाँ र २ लाख अमेरिकी डलर दाताहरूले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत चेक हस्तान्तरण गरेर उपलब्ध गराएको विज्ञप्तिमा जनाइएको छ ।