
सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विनाशकारी बाढीका कारण पीडामा परेको नेपाललाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका छन् ।
ट्रम्पले अमेरिकी प्रशासनले नेपालका नेतृत्वसँग सम्पर्क गरिरहेको र विपद्मा आवश्यक सहयोगका लागि तयार रहेको बताएका हुन् ।
एनबीसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना भएको समारोहपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले नेपाललाई सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले नेपालमा बाढीले निम्त्याएको क्षतिलाई ‘असाधारण’ भन्दै शक्तिशाली हिलो र पानीको भेलले बलिया तथा पक्की भवनसमेत ‘टुथपिक’ जस्तै बगेको बताए ।
उनले नेपाललाई सहयोग पठाइरहेको जानकारी दिँदै नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
बाढी प्रभावित क्षेत्रमा करिब ५० देखि ६० जना अमेरिकी नागरिक प्रभावित भएको हुनसक्ने अनुमान गर्दै ट्रम्पले प्रभावित अमेरिकी नागरिकको पूर्णविवरण भने अझै प्राप्त नभएको बताए ।
तर, अमेरिकी समाचार संस्था सीएनएनले अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बाढीपछि नेपालमा ९० जना अमेरिकी नागरिक बेपत्ता रहेको जनाएको छ ।