
सुनाखरी न्युज/ काठमाडौं ।
रसुवा जिल्लास्थित भोटेकोशी नदीमा भीषण बाढी आए पश्चात भएको जनधनको क्षतिको अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराएको निःशुल्क भ्वाइस कल, डाटा तथा एसएमएस सुविधा तीन दिन थप गरिएको छ । नेपाल टेलिकमले सो क्षेत्र र आसपासका सेवाग्राहीलाई दुई दिन भ्वाइस कल निःशुल्क र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस निःशुल्क गर्ने निर्णय गरेको थियो । अब आगामी भाद्र १२, १३ र १४ गते सम्म सो सुविधा उपलब्ध रहनेछ ।
कम्पनीले भोटेकोशी तथा त्रिशूली नदीको बहाव तीव्र रूपमा बढिरहेको अवस्थामा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायत नदी आसपासका क्षेत्रहरुमा बसोबास गर्ने सबै नागरिकहरुलाई उच्च सतर्कता अपनाउन र तुरुन्त सुरक्षित स्थानमा जान अनुरोध गर्नुका साथै बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउनका लागि एसएमएस मार्फत अनुरोध गरेको थियो ।विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकलाई आफन्त, उद्धार तथा राहतकर्मी र सम्बन्धित निकायसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले कम्पनीले उक्त सुविधा उपलब्ध गराएको हो ।
बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगेको अवस्थामा पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत–सम्भार गर्न कम्पनीको प्राविधिक टोली निरन्तर परिचालित भइरहेको छ । विपद्को यस अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमले सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक सहयोगलाई उच्च प्राथमिकतामा राखेको छ । यसबाट सम्बन्धित सबै सेवाग्राहीलाई आफन्तजनसँग नियमित सम्पर्कमा रहन सहयोग पुग्ने कम्पनीको विश्वास छ ।