
सुनाखरी न्युज/ काठमाडौं ।
बारामा बलात्कारपछि हत्या गरिएकी ३ वर्षीया बालिकाको हत्या र बलात्कारमा संलग्न भएका भनिएकामध्ये एक किशोरको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । किशोरको बयान चलिरहेको बेलामा बयान कक्षमा खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
उक्त भिडियोमा किशोरले कसरी बलात्कार गरेको भन्ने सबै कुरा खुलाएका छन् ।हातमा हतकडी लगाइएका ती किशोरको अघिपछि दुई प्रहरी पनि देखिएका छन् । प्रहरीकै रोहबरमा भिडियो सार्वजनिक भएको विषयले प्रहरीको अनुसन्धान प्रोटोकलमा पनि प्रश्न उठाएको छ ।
तर, यो भिडियो कुनै सञ्चार माध्यमका पत्रकारले नभइ पक्राउपछि स्वास्थ्य जाँचका क्रममा अस्पताल लैजाँदा डाक्टरहरुले सोधेको पुष्टि भएको छ । भिडियो खिच्ने व्यक्तिबाटै त्यो बाहिरिएको हुनसक्ने देखिएपछि पक्राउ परेका हुन् ।
बारा प्रहरीका एपपी नरेन्द्र कुँवरका अनुसार भिडियो खिच्ने प्रहरीलाई अहिले पक्राउ गरी हिरासतमा राखिएको छ । भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएको र अन्यमाथि पनि अनुसन्धान भइरहेको छ ।