
सुनाखरी न्युज/ काठमाडौं ।
मोरङ–सुनसरी औद्योगिक करिडोरमा लामो समयदेखि कायम अघोषित लोडसेडिङ, न्यून भोल्टेज र बारम्बार हुने ट्रिपिङको स्थायी समाधानको माग गर्दै मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समक्ष संयुक्त रुपमा १५ बुँदे ज्ञापनपत्र पेश गरेका छन् । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र उद्योग संगठन मोरङका अध्यक्ष नन्द किशोर राठीको नेतृत्वमा गएको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई भेट गरी उक्त ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा नियमित र भरपर्दो विद्यूत आपूर्ति सुनिश्चित गर्न, वर्षौंदेखि अलपत्र परेका बर्जु र केरौन सबस्टेसनको निर्माण कार्य तत्काल सम्पन्न गर्न, कटहरी औद्योगिक क्षेत्रको प्रसारण क्षमता बढाउन र नयाँ बजेटमार्फत विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (मु.अ.कर) पूर्ण रुपमा खारेज गर्न जोडदार माग गरिएको छ । स्वदेशी उत्पादनको लागत घटाई प्रतिस्पर्धी बनाउन सम्पूर्ण उत्पादनमूलक उद्योगहरुको डिमान्ड शुल्कमा कटौती गर्नुपर्ने र वर्षायाममा भारत निर्यात गरिने सरहकै सहुलियतपूर्ण दरमा स्वदेशी उद्योगलाई विद्युत् उपलब्ध गराउनु पर्ने माग गरिएको छ ।
यसैगरी, नीतिगत सुधारतर्फ ५ देखि ५० मेगावाटसम्म आन्तरिक खपत (ऋबउतष्खभ ऋयलकगmउतष्यल) का लागि उद्योगहरुलाई सहजै जलविद्युत् आयोजना निर्माणको अनुमति पत्र दिनुपर्ने, कम्तीमा १०० करोड चुक्ता पुँजी भएका सक्षम कम्पनीहरुलाई पुँजीगत सबलताका आधारमा लाइसेन्स दिने, ५ वर्षभन्दा बढी समयदेखि काम नगरी अनुमतिपत्र ओगट्ने प्रवृत्ति तत्काल खारेज गर्नु पर्ने र पारदर्शी लिलामी प्रणाली लागू गर्नु पर्ने माग गरिएको छ । साथै, ज्ञापन पत्रमार्फत उद्योगहरुले आफ्नो ट्रान्सफर्मरको नो लोड लसेस परीक्षण गर्नु पर्ने अनिवार्यताको खारेजी र विद्युत् कटौतीको पूर्वसूचना अनिवार्य गर्न ध्यानाकर्षण गराई विद्युत् प्राधिकरण तथा आम उपभोक्ता सबैले प्रयोग गर्ने कन्डक्टर र केबलको गुणस्तर परीक्षणलाई अनिवार्य गरी विद्युतको गुणस्तर सुधार गर्न तथा आर्थिक वर्ष २०७९÷८० को बजेट अनुसार उद्योगहरुको हकमा विद्युत् महसुल छुटका व्यवस्थाहरुलाई निरन्तरता दिन अनुरोध गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले निजी क्षेत्रको प्रोत्साहन र उद्योगको उत्पादन लागत घटाउन सरकार प्रतिबद्ध रहेको बताउनु भई वर्षायामको विद्युत् स्वदेशमै खपत गराउन मौसमी महसुल र बढी खपत गर्ने उद्योगलाई सहुलियत दर दिने तयारी भइरहेको जानकारी दिनु भएको थियो । साथै, उहाँले मोरङ–सुनसरी क्षेत्रमा निर्माणाधीन नौवटा नयाँ सबस्टेसन सञ्चालनमा आएपछि विद्युत् आपूर्ति भरपर्दो हुने विश्वास दिलाउनु भई उद्योग स्थापनाअघि नै विद्युत् पूर्वाधारको जानकारी दिने प्रणाली विकास गर्ने र आन्तरिक खपतबाटै अर्थतन्त्रलाई गतिशील बनाउने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । ज्ञापन पत्र बुझाउने क्रममा संघ र संगठनका अध्यक्षद्वय सहित संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, उपाध्यक्ष अनिल सारडा र संगठनका तर्फबाट निवर्तमान अध्यक्ष राकेश सुराना समेतको सहभागिता रहेको थियो । २०८३ भाद्र ७ गते, आईतबार ।