
सुनाखरी न्युज/ काठमाडौं ।
पाकिस्तान क्रिकेटका विश्वविजेता पूर्वकप्तान तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशपछि जेलबाट इस्लामाबादस्थित निजी अस्पतालमा सारिएको छ ।खानको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै उनको पार्टी पाकिस्तान तहरीक – ए – इन्साफ ( पीटीआई ) ले अस्पताल भर्ना गर्न माग गर्दै निवेदन दिएपछि अदालतले सो आदेश जारी गरेको थियो ।
कडा सुरक्षा व्यवस्थाबीच शुक्रवार बिहानै खानलाई अस्पताल लगिएको हो । यद्यपि, ७३ वर्षीय खान कति समय अस्पतालमा रहनेछन् भन्ने स्पष्ट भइसकेको छैन । पीटीआईले एक विज्ञप्तिमार्फत भनेको छ, ‘सर्वोच्च अदालतको आदेशपछि पूर्वप्रधानमन्त्री इमरान खानलाई अदियाला जेलबाट इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पतालमा सारिएको छ ।’इमरानको स्वास्थ्यबारे उनको दल र कानुनी टोलीले फेब्रुअरीदेखि लगातार चिन्ता व्यक्त गर्दै आएका थिए।
एक समय उपचार नपाउँदा उनको दाहिने आँखाको दृष्टि १५ प्रतिशतमा झरेको दाबी पनि गरिएको थियो। त्यसपछि उनलाई केही पटक सरकारी अस्पतालमा छोटो अवधिका लागि परीक्षण गराइएको थियो ।उनीहरूले खानलाई ‘इज्जतिलो व्यवहार र आधारभूत मानवीय संवेदनशीलता’ सहित उपचारको व्यवस्था गर्न आग्रह गरेका थिए ।
उक्त पत्रमा ग्रेग च्यापेल, सुनील गावस्कर र कपिल देवसहितका पूर्वकप्तानहरू सहभागी थिए । इमरान खान सन् २०२३ को अगस्टदेखि रावलपिन्डीस्थित अदियाला जेलमा कैद छन् । उनीमाथि भ्रष्टाचारलगायत विभिन्न आरोपमा सजाय सुनाइएको छ । तर, खान र उनको पार्टीले ती आरोपहरू अस्वीकार गर्दै आएका छन् ।