२०८३ असार १९ , शुक्रवार

अब काठमाडौं महानगरमा स्रोतमै वर्गीकरण गरी फोहर व्यवस्थापन

1783061047-sqoob

सुनाखरी न्युज /  काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन थालेको छ । कामपा वातावरण विभागका प्रमुख सरिता राईले बञ्चरेडाँडा फोहर व्यवस्थापनको आयु बढाउन स्रोतमै फोहरको वर्गीकरण र व्यवस्थापन थालनी गरेको बताइन् ।

महानगरपालिकाले वडा नं १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ मा स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन अघि बढाएको छ । प्रमुख राईका अनुसार, स्रोतमै फोहर व्यवस्थापनपछि हाल कामपाबाट दैनिक १५ ट्रक मात्रै फोहर बञ्चरेडाँडामा लगिँदै गरिएको छ । यसअघि त्यसरी वर्गीकरण नगर्दा दैनिक २० ट्रकसम्म फोहर पठाइने गरिएको थियो ।

महानगरपालिकाभित्र सात क्षेत्रबाट दैनिक रुपमा वर्गीकरण गरिएको फोहर व्यवस्थापन सुरु भएपछि करिब तीन दशमलव १९ मेट्रिक टन फोहर घटेको उनले बताइन् । प्रमुख राईले भनिन्, ‘सहरभित्रको फोहरको स्रोत वर्गीकरण गरी ढुवानीमा सहज तुल्याउन र अन्तिम व्यवस्थापनमा मात्रा घटाउनकै लागि वर्गीकरण गरिएको हो ।’ घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न पनि महानगरपालिकाले सात क्षेत्र वर्गीकरण गरी वैज्ञानिक विधि अपनाइने जनाएको छ ।

फोहरमैला सङ्कलन र ढुवानीसम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइ वर्गीकरणबाट फोहरको मात्रा घटाउने, पुनःप्रयोग गर्ने र विसर्जन गर्न क्षेत्रगत आधारमा व्यवस्थापन गर्ने कार्य अघि बढाइएको हो । सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रसँग सेवा खरिद गरी वा आय ठेक्काको प्रक्रियाबाट समुदायमा भएको फोहरमैला सङ्कलन र ढुवानी गर्ने कार्यविधि जारी गरिएको थियो । रासस