
सुनाखरी न्युज / काठमाडौं ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएका तरकारीहरूमध्ये तीन थरी तरकारीमा अत्यधिक विषादीको मात्रा फेला परेको छ । विषादीको अवशेष भेटिएपछि करिब ४१० किलोग्राम तरकारी नष्ट गरिएको छ। कृषि विभाग अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले शुक्रबार गरेको नियमित प्रयोगशाला परीक्षणका क्रममा धादिङ, मकवानपुर र सल्यानबाट आएका लौका, काउली र आलुमा स्वास्थ्यका लागि हानिकारक मानिने उच्चस्तरको विषादी भेटिएको हो ।
कालीमाटी बजारमा नियमित रूपमा विषादी अवशेष परीक्षण गरिँदै आएको छ। परीक्षणमा मापदण्डभन्दा बढी विषादी भेटिएका कृषि उपजलाई बजारमा बिक्री–वितरण गर्न नदिई नष्ट गर्ने व्यवस्था रहेको छ। यस अभियानले सुरक्षित तथा गुणस्तरीय तरकारी उपभोक्तासम्म पुर्याउने उद्देश्य राखेको सम्बन्धित निकायले जनाएको छ।परीक्षणका क्रममा धादिङको गजुरी गाउँपालिकाबाट ल्याइएको लौकामा ६६.५१ प्रतिशत र मकवानपुरको थाहा नगरपालिकाबाट आएको काउलीमा ६४. ५४ प्रतिशत विषादीको मात्रा भेटिएको थियो ।
त्यसैगरी, सल्यानबाट ल्याइएको आलुको एक नमुनामा समेत ६६. ९९ प्रतिशत विषादी पाइएको छ, जुन स्वास्थ्यका दृष्टिले अत्यन्तै जोखिमपूर्ण मानिन्छ । प्रयोगशालाको मापदण्ड अनुसार विषादीको रोकावट दर ४५ प्रतिशतभन्दा बढी देखिएमा त्यस्ता उत्पादनहरू उपभोग गर्न नमिल्ने र अनिवार्य रूपमा विसर्जन गर्नुपर्ने प्रावधान रहेको छ । यी तीनवटै नमुनामा सो सीमाभन्दा निकै बढी विषादी पाइएकाले तिनलाई बजारमा बिक्री वितरण हुन नदिई नष्ट गरिएको कालीमाटी तरकारी बजार समितिले बताएको छ ।