२०८३ असार ११ , बिहिवार

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

mmm

सुनाखरी न्युज/ काठमाडौं ।

टाइम्स हायर एजुकेसनद्वारा आयोजित ग्लोबल सस्टेनेबल डेभलपमेन्ट कंग्रेस  (GSDC) २०२६ का क्रममा जकार्ता, इन्डोनेसियामा ग्लोकल प्रा.  लि .  र टाइम्स हायर एजुकेसन (THE) बीच एक रणनीतिक सहकार्य समझदारीपत्र  (MoU) मा हस्ताक्षर भएको छ। यो सहकार्य नेपालको उच्च शिक्षा क्षेत्रको विकास, अन्तर्राष्ट्रियकरण तथा विश्वव्यापी सहभागितालाई सुदृढ बनाउने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। समझदारीपत्रमा ग्लोकल प्रा.  लि .का अध्यक्ष श्री आशिष ठाकुर तथा टाइम्स हायर एजुकेसनका एशिया–प्रशान्त (APAC) क्षेत्रका अध्यक्ष सुश्री मेई मेई लिम ले आफ्ना संस्थाहरूको तर्फबाट हस्ताक्षर गर्नुभएको हो। यस सहकार्यले उच्च शिक्षा सम्बन्धी तथ्याङ्क, र्याङ्किङ, प्रभाव मूल्याङ्कन, नीतिगत परामर्श तथा संस्थागत विकासमा टाइम्स हायर एजुकेसनको विश्वव्यापी अनुभवलाई शिक्षा, युवा विकास, सीप विकास तथा सरोकारवालासँगको सहकार्यमा ग्लोकलको अनुभवसँग जोड्दै नेपाल तथा दक्षिण एशियाको उच्च शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

सहकार्यका प्रमुख क्षेत्रहरू

नेपालका विश्वविद्यालय तथा सरकारी संस्थाहरूलाई सहयोग यस सहकार्य अन्तर्गत नेपालका विश्वविद्यालय तथा सम्बन्धित सरकारी निकायहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, अन्तर्राष्ट्रिय पहिचान, विश्वव्यापी मापदण्डसँग तुलना, प्रभाव मूल्याङ्कन तथा रणनीतिक विकासका क्षेत्रमा सहयोग पुर्‍याइनेछ। नेपालका उच्च शिक्षा संस्थाहरूलाई विश्वस्तरीय अभ्यास, डाटा आधारित निर्णय प्रक्रिया तथा संस्थागत रूपान्तरणका लागि आवश्यक सहयोग उपलब्ध गराउने विषयमा समेत सहकार्य गरिनेछ।

“स्टडी इन नेपाल” अभियानको प्रवद्र्धन

नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यलाई मध्यनजर गर्दै ग्लोकल र टाइम्स हायर एजुकेसनले संयुक्त रूपमा “स्टडी इन नेपाल” अभियानलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने सम्भावनाहरूको खोजी गर्नेछन्। यसअघि भएका सहकार्यहरू तथा अन्तर्राष्ट्रिय संवादहरूको निरन्तरतास्वरूप नेपालका उच्च शिक्षा संस्थाहरूको क्षमता, शैक्षिक उत्कृष्टता तथा अनुसन्धानका अवसरहरूलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिनेछ। साथै नेपाललाई दक्षिण एशियामा गुणस्तरीय शिक्षा, अनुसन्धान तथा ट्रान्सनेशनल एजुकेसन (TNE) को उदीयमान केन्द्रका रूपमा स्थापित गर्न सहयोग गरिनेछ।

रणनीतिक परामर्श तथा संस्थागत विकास

दुवै संस्थाले विश्वविद्यालय, सरकार, उद्योग तथा विकास साझेदारहरूसँग मिलेर उच्च शिक्षा प्रणाली सुदृढीकरण, कार्यक्षेत्रका लागि आवश्यक सीप विकास, रोजगारीयोग्यता अभिवृद्धि, संस्थागत रूपान्तरण तथा नीतिगत नवप्रवर्तनका क्षेत्रमा सम्भावित सहकार्यहरू अगाडि बढाउनेछन्। साथै नेपालमा सम्भावित शैक्षिक, संस्थागत, सरकारी तथा कर्पोरेट परामर्श परियोजनाहरूको पहिचान र कार्यान्वयनका अवसरहरू पनि संयुक्त रूपमा अन्वेषण गरिनेछ।

समझदारीपत्र हस्ताक्षरपछि बोल्दै ग्लोकल प्रा। लि।का अध्यक्ष श्री आशिष ठाकुरले भन्नुभयोस् “नेपालको उच्च शिक्षा क्षेत्र रूपान्तरणको एक महत्वपूर्ण चरणमा प्रवेश गरिरहेको छ। अर्थपूर्ण प्रगतिको लागि अन्तर्राष्ट्रिय सहकार्य, विश्वस्तरीय ज्ञान तथा स्थानीय आकांक्षालाई विश्वव्यापी अवसरहरूसँग जोड्ने क्षमता आवश्यक छ। टाइम्स हायर एजुकेसनसँगको यस सहकार्यमार्फत हामी नेपालका विश्वविद्यालयहरूलाई सशक्त बनाउन, ‘स्टडी इन नेपाल’ अभियानलाई अगाडि बढाउन तथा संस्थागत विकास, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहभागिताका नयाँ अवसरहरू सिर्जना गर्न योगदान पुर्‍याउने आशा राख्छौं।”

उहाँले थप भन्नुभयोस्“नेपालसँग गुणस्तरीय शिक्षा, युवा जनशक्ति, अनुसन्धान तथा क्षेत्रीय नेतृत्वको अपार सम्भावना छ। विश्वका अग्रणी उच्च शिक्षा संस्थासँगको यो सहकार्यले नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा तथा ज्ञान केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौं।” टाइम्स हायर एजुकेसनका एशिया–प्रशान्त क्षेत्रका अध्यक्ष सुश्री मेई मेई लिमले यस सहकार्यप्रति खुशी व्यक्त गर्दै एशिया–प्रशान्त क्षेत्रका उदीयमान उच्च शिक्षा प्रणालीहरूसँग सहकार्यको महत्वमाथि जोड दिनुभयो।

उहाँले नेपाल उच्च शिक्षा विकासका लागि महत्वपूर्ण सम्भावना बोकेको देश भएको उल्लेख गर्दै विश्वविद्यालय, सरकार तथा सरोकारवालाहरूबीचको सहकार्यलाई थप मजबुत बनाउन टाइम्स हायर एजुकेसन प्रतिबद्ध रहेको बताउनुभयो। उहाँका अनुसारस् “हामी ग्लोकलसँग सहकार्य गर्दै नेपालका विश्वविद्यालयहरूको अन्तर्राष्ट्रिय दृश्यता, क्षमता विकास, प्रभाव मापन तथा विश्वव्यापी सहभागिता अभिवृद्धि गर्न विभिन्न सम्भावनाहरूको खोजी गर्न उत्साहित छौं।” उहाँले विश्वविद्यालय, सरकार, उद्योग तथा विश्वव्यापी ज्ञान सञ्जालबीच बलियो सम्बन्ध स्थापना गर्दै दिगो र प्रभावकारी परिवर्तन ल्याउनुपर्ने आवश्यकतामाथि पनि जोड दिनुभयो।

यो सहकार्य नेपालका उच्च शिक्षा आकांक्षाहरूलाई ज्ञान आदानप्रदान, अन्तर्राष्ट्रिय साझेदारी, रणनीतिक परामर्श सेवा तथा नवप्रवर्तनात्मक पहलहरूमार्फत सघाउने साझा प्रतिबद्धताको प्रतिबिम्ब हो। नेपालले क्षेत्रीय तथा विश्वव्यापी शिक्षा प्रणालीमा आफ्नो भूमिका विस्तार गरिरहेको वर्तमान सन्दर्भमा ग्लोकल र टाइम्स हायर एजुकेसनबीचको यो साझेदारीले विश्वविद्यालयहरू, नीति निर्माता, विद्यार्थी, अनुसन्धानकर्ता तथा उद्योग क्षेत्रका सरोकारवालाहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ। दुवै संस्थाले शिक्षा, अनुसन्धान, सीप विकास, रोजगार, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई केन्द्रमा राख्दै नेपालको उच्च शिक्षा क्षेत्रलाई थप प्रतिस्पर्धी, प्रभावकारी तथा विश्वव्यापी रूपमा परिचित बनाउन संयुक्त रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

ग्लोकल प्रा.  लि.  बारे

ग्लोकल प्रा.  लि .  शिक्षा, रोजगारीयोग्यता, सीप विकास, उद्यमशीलता, युवा सहभागिता तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा कार्यरत नेपालस्थित संस्था हो। ग्लोकल टिन हिरो, स्किल विक, ग्लोकल अफ्टर स्कूल, युथ डाइलग, सीईओ अनप्लग्ड लगायतका पहलहरू तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीमार्फत ग्लोकलले नेपाल तथा दक्षिण एशियाभरका हजारौं युवाहरूलाई सकारात्मक रूपमा जोड्दै आएको छ।

टाइम्स हायर एजुकेसन बारे

टाइम्स हायर एजुकेसन (THE)  विश्वका अग्रणी उच्च शिक्षा तथ्याङ्क, र्याङ्किङ, अनुसन्धान, विश्लेषण तथा अन्तर्दृष्टि प्रदान गर्ने संस्थाहरूमध्ये एक हो। यसले विश्वभरका विश्वविद्यालय, सरकार तथा शैक्षिक संस्थाहरूलाई उच्च शिक्षामा उत्कृष्टता, प्रभाव, अन्तर्राष्ट्रियकरण तथा नवप्रवर्तन प्रवद्र्धन गर्न सहयोग पुर्‍याउँदै आएको छ।