२०८३ असार ५ , शुक्रवार

बाँदर आतङ्कको समाधान खोज्दै सरकार

badar

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा तीन प्रजातिका लंगुर बाँदर ( नेपाल लंगुर, तराई लंगुर र हिमालयन लंगुर)  र दुई प्रजातिका मकाका बाँदर अर्थात् असामी र राता बाँदर पाइन्छन् । हालका बाँदर आतंकहरू प्रायः रातो बाँदरसँग सम्बन्धित छन् । यद्यपि, बाँदरको आतंक नयाँ भने होइन ।काठमाडौंकै पशुपति, स्वयम्भु, बालाजुआसपासका क्षेत्रमा बाँदरले पैदल यात्री, तीर्थालुलाई चिथोर्नेदेखि घरमै आएर सामान लैजानेसम्म गर्छन् । सीमित बासस्थान र खानेकुराको कमी एकातिर छ भने बाँदरको संख्या यी स्थानमा बढेको बढ्यै छ । काठमाडौंमा बढेको सामुदायिक कुकुरको रेविज बाँदरसम्म पुग्ने जोखिम उत्तिकै छ र बाँदरबाट मानिसमा विभिन्न रोग (Hep b र Hiv) समेत सर्न सक्छ ।

विशेषगरी मध्यपहाडी क्षेत्रमा बाँदरले बालीनाली नष्ट गर्ने समस्या किसानका लागि अहिले ठूलो चिन्ताको विषय बनेको छ। यसले खेतीपाती, ग्रामीण जीविकोपार्जन र गाउँको अर्थतन्त्रमा थप दबाब सिर्जना गरिरहेको छ। यसले ग्रामीण नेपालको गहिरो संकटलाई पनि उजागर गरेको छ। श्रम अभाव, बढ्दो बाँझो जमिन, वन र खेतीपातीको बदलिँदो सम्बन्ध, कमजोर संस्थागत समन्वय तथा वन्यजन्तुसँग सहअस्तित्वको बढ्दो लागत अहिलेको मध्यपहाडी जनजीवनका प्रमुख समस्याहरु हुन्।समाधानका रूपमा तारबार लगाउने, क्षतिपूर्ति दिने, बाली परिवर्तन गर्ने, बाँदर स्थानान्तरण गर्ने, बन्ध्याकरण गर्ने वा संख्या नियन्त्रण गर्ने जस्ता विभिन्न प्रस्तावहरू छलफलमा आएका छन्।

बाँदर समस्या किन बढ्दै गएको छ  ? 

नेपालका गाउँहरू अहिले तीव्र बसाइँसराइको चपेटामा परेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी तथा आधुनिक सुविधाको खोजीमा ग्रामीण जनसंख्या सहर र विदेशतर्फ आकर्षित भइरहेको छ । यसको परिणामस्वरूप हजारौं रोपनी खेतीयोग्य जमिन बाँझो बनेका छन् ।

एक समय हराभरा देखिने गाउँहरू आज सुनसान बन्दै गएका छन् । जब गाउँमा मानिसको उपस्थिति घट्छ, खेतबारी बाँझो रहन्छ र कृषि गतिविधि कम हुन्छ, तब बाँदर लगायतका वन्यजन्तुले ती क्षेत्रलाई आफ्नो सहज आवासको रूपमा प्रयोग गर्न थाल्छन् ।

अर्कोतर्फ वन क्षेत्रमा प्राकृतिक खाद्य स्रोतको कमी, वन विनाश तथा जलवायु परिवर्तनका प्रभावका कारण बाँदरहरू मानव बस्तीमा खाद्य खोज्न आउन बाध्य भएका छन् । यसरी हेर्दा बाँदर समस्या वास्तवमा गाउँको जनशक्ति पलायन, कृषि क्षेत्रको अवनति तथा वन व्यवस्थापनको कमजोरीसँग गहिरो रूपमा जोडिएको देखिन्छ ।

उपाय के  :   बाँदरले देशभर मच्चाएको आतंक नियन्त्रणका लागि विभिन्न उपाय सुझाइएको छ । जीविकोपार्जनका उपाय विविधीकरण गर्ने, बाँदरका लागि वनमा नै खानाको प्रबन्ध गर्नेदेखि लिएर बाँदरको परिवार नियोजन गर्नेसम्मका उपाय सुझाइएका छन् । अल्पकालीन रूपमा कृषिबालीमा निर्भर किसानलाई पशुपालनतर्फ मोड्दा पनि बाँदरले पुर्‍याउने क्षति कम हुन सक्छ । तर, यसबाट चितुवासँगको द्वन्द्व बढ्न सक्छ । यसैगरी वनमा फलफूल रोप्ने अर्को विकल्पका पनि आफ्नै समस्या छन् । फलफूलका बिरुवा रोप्दैमा आजको भोलि नै समस्या समाधान हुँदैन । फेरि फलफूलका बिरुवा रोपेपछि हुर्कन र तिनले फल दिन समय लाग्छ । साथै फलफूलको उपलब्धता बढेसँगै बाँदरको प्रजनन क्षमता वृद्धि भई समस्या झन् बढ्न सक्छ । बाँदरहरू समाएर बन्ध्याकरण गर्ने उपाय पनि प्राविधिक, आर्थिक तथा व्यावहारिक रूपमा सहज हुने देखिँदैन । बाँदरको आतंक कम गर्न अल्पकालीन र दीर्घकालीन उपाय अविलम्ब पहिचान र अवलम्बन गर्नुपर्ने देखिन्छ ।

केही अध्ययनले बाँदरहरूको वासस्थानमा मानवीय गतिविधिको बढोत्तरी, वासस्थानको खण्डीकरण आदि कारणले बाँदरहरूको आतंक बढ्दै गएको बताएका छन् । त्यसका साथै बाँदरको समस्या विकराल हुनुको कारण खोज्दै जाने हो भने माओवादी द्वन्द्व र सामुदायिक वनको पनि भूमिका देखिन आउँछ । ०५२ सालबाट सुरु भएको माओवादी द्वन्द्वका कारण देशभरका अधिकांश ठाउँमा मानिस बसाइँसराइ गर्ने क्रम सुरु भयो र बिस्तारै बिदेसिने क्रम पनि तीव्र हुन थाल्यो ।

जसका कारण जमिन बाँझो छोड्ने क्रम बढ्न थाल्यो, जहाँ बिस्तारै बुट्यानहरू पलाउन थाले । त्यसका साथै नब्बेको दशकमा सामुदायिक वन बनाएर हस्तान्तरण गर्ने क्रम बढेर गयो । धेरैजसो सामुदायिक वनहरू आर्थिक रूपले आकर्षक एकल प्रजातिका रुखलाई महत्व दिने गरी व्यवस्थापन गर्न थालियो । यी सबैका कारण ती जंगलहरू चितुवा, ध्वाँसेजस्ता जनावर, जसले प्राकृतिक रूपमा बाँदरको संख्या नियन्त्रण गर्थे तिनका लागि उपयुक्त हुन सकेन । बाँकी भएका चितुवा पनि मानवसँगको द्वन्द्वका कारण मारिने क्रम तीव्र छ । यस्ता क्रियाकलापले बाँदरसँगको द्वन्द्व झन् बढाउन मद्दत गर्छ ।

सामुदायिक वनलाई पहिलेकै अवस्थामा पुनस्र्थापना गर्ने, जंगलहरूको खण्डीकरण रोक्ने र बाँदरका प्राकृतिक सिकारीहरूको पुनस्र्थापना गर्ने दिशामा काम गर्नुपर्ने देखिन्छ । यसका साथै जीविकोपार्जनलाई विविधीकरण गर्दै जाने र बाँदरले क्षति नगर्ने वा कम क्षति गर्ने प्रजातिको खेतीलाई पनि प्रोत्साहन गर्नु जरुरी देखिन्छ । यसका अतिरिक्त बाँदरको स्थानान्तरण गर्ने, जंगल र बस्ती क्षेत्रको बीच भागलाई लक्षित गरी हेरालु राख्ने, बाँदरलाई मन नपर्ने वनस्पति जंगल र बस्तीबीच लगाउने, बाँदर निर्यात गर्ने विषय पनि व्यापक छलफल र सहमतिमा ल्याउन सके बाँदर नियन्त्रण हुन सक्छ ।

होइन भने गाउँबाट मानिस बाँदर, चितुवा, दुम्सी, बँदेल आतंकका कारण पलायन हुने स्थिति आउँदै छ । यसले बेरोजगारी अझ बढ्नेछ, नेपालमा खाद्य असुरक्षा अझ बढ्नेछ भने गाउँबाट शहर आउने प्राङ्गारिक उत्पादन घट्नेछ । गाउँ रित्तिने र शहर थप भरिने हुँदा जनताको रोजीरोटी व्यवस्थापन गर्न सरकारलाई थप चुनौती हुनेछ । साथै, मानवहरूमा पशुबाट सर्ने रोगको प्रकोपसमेत बढ्न सक्छ । भ्यु टावर र अनावश्यक संरचना बनाउनुभन्दा पहिले कृषकका जीविकोपार्जनसँग सम्बन्धित यस्ता समस्या निराकरण हुन अति आवश्यक छ । यसर्थ, वन्यजन्तु र मानव द्वन्द्वको  (human-wildlife conflict ) दीर्घकालीन समाधानतर्फ सबैले सोच्नुपर्छ ।