२०८३ असार ३ , बुधवार

वार्ताअघि तेल निर्यात सुरु

1774248191_hormuz

 

सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिका र इरानबीच शान्ति सम्झौताका अन्तिम वार्ता सुरु हुन दुई दिन बाँकी रहँदा इरानी तेल ट्याङ्करहरू अमेरिकी नाकाबन्दी क्षेत्रबाट बाहिर निस्कन थालेका छन् । यसलाई दुई महिनापछि इरानको पहिलो कच्चा तेल निर्यातका रूपमा हेरिएको छ र मध्यपूर्वमा तनाव कम हुने अपेक्षा बढेसँगै विश्व तेल बजारमा पनि यसको प्रभाव परेको छ । हर्मुज जलघाँटी पुनः सञ्चालनमा आएको सङ्केत पाएसँगै अन्तर्राष्ट्रिय तेल मूल्य घटेको छ । यहीबीच शुक्रबार स्विट्जरल्यान्डको बर्गेनस्टक पर्वतीय रिसोर्टमा अमेरिका र इरानबीच अन्तिम सम्झौतासम्बन्धी वार्ता सुरु हुने तयारी भइरहेको छ । वार्तामा इरानको आणविक कार्यक्रम र अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने विषय मुख्य एजेन्डाका रूपमा रहने बताइएको छ ।

तेल ढुवानी अनुगमन गर्ने ‘ट्याङ्करट्र्याकर’ वेबसाइटले स्याटेलाइट तस्बिर र डिजिटल ट्र्याकिङ तथ्याङ्कका आधारमा कम्तीमा दुई इरानी सुपरट्याङ्कर अमेरिकी नौसैनिक नाकाबन्दी क्षेत्रबाट बाहिरिएको जनाएको छ । ‘डिओना’ र ‘हिरो–२’ नामका ती ट्याङ्करमा संयुक्त रूपमा करिब ३८ लाख ब्यारेल इरानी कच्चा तेल रहेको बताइएको छ । पछि तेस्रो ट्याङ्कर पनि बाहिरिएको जानकारी सार्वजनिक गरिएको थियो ।अधिकारीहरूका अनुसार प्रारम्भिक सहमतिपछि सुरु हुने ६० दिने वार्ताले इरानको आणविक कार्यक्रमको भविष्य र आर्थिक प्रतिबन्ध हटाउने प्रक्रियाबारे अन्तिम निर्णय गर्नेछ । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले सम्झौतासँग परिचित स्रोतहरूलाई उद्धृत गर्दै युद्ध अन्त्यसम्बन्धी सहमतिअन्तर्गत अमेरिकाले इरानलाई तत्काल तेल तथा इन्धन बिक्री गर्न अनुमति दिने जनाएको छ । प्रतिबन्ध खुकुलो पार्ने व्यवस्थामा बैंकिङ, यातायात र बिमा सेवा पनि समेटिने बताइएको छ ।

यद्यपि अमेरिकाभित्रै सम्झौताप्रति मिश्रित प्रतिक्रिया देखिएको छ । केही रिपब्लिकन सांसदहरूले ट्रम्प प्रशासनसँग सम्झौताको पूर्ण पाठ र विस्तृत जानकारी माग गरेका छन् । सिनेटका बहुमत नेता जोन थुनले सम्झौताको वास्तविक स्वरूप बुझ्न आवश्यक रहेको बताउनुभयो । तर शान्ति प्रक्रियामाथि क्षेत्रीय तनाव अझै कायमै छ । इजरायली सेनाले दक्षिण लेबनानमा आफ्ना कारबाही जारी रहेको जनाएको छ भने रकेट प्रहार रोकिएको र प्रक्षेपण स्थलमाथि हवाई आक्रमण गरिएको दाबी गरेको छ । लेबनानको सरकारी समाचार संस्थाका अनुसार मेफादुन र सुकिन क्षेत्रमा भएका आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ । त्यसपछि इरानको केन्द्रीय सैन्य कमान्डले इजरायललाई ‘कठोर प्रतिक्रिया’ को चेतावनी दिएको छ ।

एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, इरानका उपविदेश मन्त्री माजिद तख्त–राभान्ची र शीर्ष वार्ताकार मोहम्मद बाघेर घालीबाफले प्रारम्भिक ढाँचा सम्झौतामा विद्युतीय हस्ताक्षर गरिसक्नुभएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले शुक्रबारदेखि इरान र अमेरिकाबीच नयाँ चरणको वार्ता सुरु हुने जानकारी दिँदै अन्तिम सम्झौतामा आणविक मुद्दा र प्रतिबन्ध हटाउने विषयमा निर्णय हुने बताउनुभयो ।हर्मुज पुनः खुल्ने अपेक्षाले विश्व बजारमा तेलको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ७८. ७४ डलरमा झरेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियेट ७५. ८५ डलर प्रतिब्यारेलमा कारोबार भएको छ ।

पाकिस्तान र कतारको मध्यस्थतामा भएको अप्रत्यक्ष वार्ताले अन्तरिम सहमतिसम्म पुग्न मद्दत गरेको भए पनि इरानको युरेनियम संवर्धन कार्यक्रम र पश्चिमी प्रतिबन्धजस्ता जटिल विषय अझै समाधान हुन बाँकी छन् । अमेरिका र इजरायलले इरानलाई उच्च संवर्धित युरेनियम भण्डार त्याग्न दबाब दिइरहेका छन् भने इरानले आफ्नो संवर्धन अधिकार कायम राख्ने अडान दोहोर्‍याएको छ । यसैबीच, ट्रम्पले सम्झौताको पाठ चाँडै सार्वजनिक गर्न सकिने सङ्केत दिनुभएको छ । इरानको रूढिवादी पत्रिका भातान–ए इमरोजले उक्त सम्झौतालाई ‘ट्रम्पको आत्मसमर्पण दस्तावेज’ भनेर वर्णन गरेको छ । तर अराघचीले विगतका अनुभव स्मरण गराउँदै सतर्कता आवश्यक रहेको बताउनुभएको छ । उहाँका अनुसार इरानले विगतमा पटक–पटक सम्झौता उल्लङ्घन र प्रतिबद्धता तोडिएको अनुभव भोगिसकेको छ ।

उपराष्ट्रपति भान्सले अमेरिकी करदाताको रकम इरानमा नजाने स्पष्ट पार्दै आणविक निरीक्षकहरूलाई इरान प्रवेशको अनुमति दिइने बताउनुभएको छ । यद्यपि इरानी सञ्चारमाध्यमले १२ अर्ब डलर बराबरको रोक्का सम्पत्ति फुकुवा हुन सक्ने दाबी गरेका छन् ।विश्लेषकहरूले भने इजरायल र इरान समर्थित हिजबुल्लाहबीचको समानान्तर द्वन्द्व नै कूटनीतिक प्रयासका लागि सबैभन्दा ठूलो चुनौती बनेको बताएका छन् । मार्चमा हिजबुल्लाहले इजरायलमाथि रकेट आक्रमण गरेपछि लेबनान युद्धमा तानिएको थियो, जसले क्षेत्रीय तनावलाई अझ गहिरो बनाएको छ । ( रासस / एएफपी )