
सुनाखरी न्युज / काठमाडौं ।
भारतको ग्वालियरमा जन्मिएर भारतीय रङ्गमञ्च, सङ्गीत, साहित्य र चलचित्रमा स्थापित नाम हुन् पीयुष मिश्रा । ६३ वर्षीय बहुआयामिक कलाकार मिश्रालाई अभिनेताकै धेरैले चिन्ने गरेका छन् । तर, उहाँ रङ्मञ्चसँगै साहित्यमा पनि उत्तिकै सक्रिय र स्थापित नाम हुनहुन्छ । पछिल्लो समय उहाँको सक्रियता गायनमा बढिरहेको छ । रङ्गकर्मी माँझ चर्चित भारतको दिल्लीमा रहेको नेसनल स्कुल अफ ड्रामा ( एनएसडी )
बाट अभिनय सम्बन्धी शिक्षा लिनुभएका अभिनेता मिश्रा आजभोलि अभिनयको कामलाई थाती राखेर आफ्नो साङ्गीतिक समूहसँग विभिन्न सहरमा गीत सुनाउन पुग्नुहुन्छ ।
“अहिले म अभिनयको लागि पनि समय निकाल्न सकिरहेको छैन, किनकि म गीत सुनाउन भारतकै विभिन्न सहर पुग्ने गरेको छु । मलाई यसमा अनान्द आउँछ, किनकि म बलिउडका गीतहरू गाउँदिन, मैले गाउने गीत मैले नै तयार गरेका छन्, यी रङ्गमञ्चका गीतहरू हुन्”, अभिनेता मिश्राले भन्नुभयो । काठमाडौँ कलिङ साहित्य महोत्सव ९केएलएफ० को चौथो संस्करणमा सहभागी हुन् नेपाल आउनुभएका उहाँले सफलता प्राप्त गर्न घर छाड्नु सक्नुपर्ने बताउनुभयो । महोत्सव अन्तर्गत पहिलो दिन कार्यक्रममा सुनिनुभएका अभिनेता मिश्राले सङ्घर्षले दिने सफलता दीघो हुनेमा जोड दिनुभयो ।
“तपाइँ केहि बन्न चाहनुहुन्छ भने पहिला आमाको हातबाट बन्ने खाना छाड्नुस, आफ्नो सहजता त्याग्नुस् र उदेश्य प्राप्तिका लागि हिँड्नुस, असम्भव केही छैन । तपाइँ एउटा मात्र काम गर्न सक्षम हुनुहुन्छ भन्ने म मान्दिन, हामीले गर्न नसक्ने केही छैन तर अल्छी बन्नु हुन्न्”, उहाँले भन्नुभयो । जीवनको पहिलो २० वर्ष ग्वालियर, त्यसपछिको २० वर्ष दिल्ली र २३ वर्षदेखि मुम्बईमा बसोबास गरिरहनुभएका अभिनेता मिश्राले आफूले चाहेको सबै काम गर्न पाएको बताउनुभयो । ग्वालियर छाड्नका लागि ’एनएसएडी’ पुग्नुभएका अभिनेता मिश्राले रङगमञ्च हुँदै आफ्नो कामलाई साहित्य र चलचित्रसँग जोड्नुभयो । बाल्यकालदेखि लेखनमा अद्भुत कला देखाउने अभिनेता मिश्राले आफू ‘गड गिफ्टेड ट्यालेन्ट’ रहेको सुनाउनुभयो । आफ्नो मनले दिएको काम गर्दै सफलताको उच्चतम विन्दुमा पुग्न सफल हुनुभएका उहाँले सुरुआती समयमा बलिउडमा अभिनेता बन्ने अवसरलाई समेत त्याग्नुभयो ।
“मलाई कुनै समय बलिउडमा अभिनेता बन्ने प्रस्ताव आएको थियो, मेरो तस्बिर हेरेर निर्माताले मन पराउनुभएको रहेछ । तर, त्यो समय म रङ्गमञ्चमा रमाई रहेको थिएँ, मैले के गर्नुपछ भन्नेमा स्पष्ट थिएँ । मलाई बारम्बार गएर निर्मातालाई भेट्न भनियो, तर म गइन् । म घमण्डी भएर होइन की म त्यो समयमा रङ्गमञ्च नै गर्न चाहन्थे । मैले आफ्नो कला यात्रामा जे जस्तो गरे, म खुसी छु”, उहाँले भन्नुभयो ।नेपाल आउँदा उहाँलाई खुसी र आनन्द लाग्ने रहेछ । काठमाडौँको सुन्दरता, अत्याध्मिक पक्ष, वातावरण अभिनेता मिश्रालाई आकर्षित गर्ने तत्व हुन् । “मैले सुनेको छु, काठमाडौँ कलाका लागि राम्रो ठाउँ हो, यहाँ धेरै साङ्गीतिक कार्यक्रम हुने गरेका छन् । मलाई बोलाइएमा म यहाँ आफ्नो समूहसँग आएर गीत सुनाउने छु, किनकि पछिल्लो समय म यसमै रमाईरहेको छु, यो मेरो मनले चाहेको काम हो”, उहाँले भन्नुभयो ।
अभिनेता मिश्राले आफ्नो आत्मकथा ‘तुम्हारी औकात क्या है पियूष मिश्रा रु’ मा आफ्नो बाल्यकालका जटिल भोगाइ, रङ्गमञ्चप्रतिको मोह, परिवारको अपेक्षाविरुद्ध कलाको बाटो रोज्ने साहस लगायत रहेको बताउनुभयो । “मैले जीवनका पहिलो २० वर्ष ग्वालियरमा बिताएँ, त्यसपछिका २० वर्ष दिल्लीमा र पछिल्ला वर्षहरू मुम्बईमा । यो पुस्तकमा यी तीनै शहरसँग जोडिएका मेरा अनुभव, सङ्घर्ष र सम्झनाहरू समेटिएका छन् । यसले सङ्घर्षले दिलाउने सफलता बारे थोरै भएपनि बुझाउँछ”, उहाँले भन्नुभयो । उहाँले युवाहरूलाई आफ्नो क्षमतालाई कुनै एउटा क्षेत्रमा मात्र सीमित नगर्न सुझाव दिँदै आफ्नो सक्षमतालाई बुझ्न आग्रह गर्नुभयो । महोत्सव जेठ २४ गते आइतबार बेलुकी सम्पन्न भईसकेको छ । ( रासस )