२०८३ जेठ १४ , बिहिवार

इजरायलमा नेपालीका लागि रोजगारीको अवसर

1620278386-zile1

सुनाखरी न्युज / काठमाडौं ।

सरकारले इजरायलमा केयरगिभर कामका लागि नेपाली श्रमिकहरू पठाउने निर्देशिका जारी गरेको छ ।इजरायलसँगको श्रम सम्झौताअनुसार वैदेशिक रोजगार विभागले २ हजार ३ सय संख्यामा केयरगिभरका लागि आवेदन आह्वान गरेको हो । आगामी जेठ १७ गतेदेखि असार ७ गतेसम्म इच्छुकले आवेदन दिन पाउने विभागले जनाएको छ ।

कति हो, केयरभियरको योग्यता ? 
केयरगिभरका लागि इजरायल जाने नेपालीले कम्तीमा पनि १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको निर्देशनअनुसार केयरगिभरका लागि इजरायल जाने कामदारले सरकारी मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट कम्पतीमा तीन महिनाको तालिम लिएको हुनुपर्नेछ । यस्तै, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएससम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गर्नेले समेत इजरायलमा केयरगिभरका लागि काम गर्न आवेदन दिन सक्ने निर्देशिकामा उल्लेख छ ।

कामदारको उमेर भने २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ । १ दशमलव ५ मिटर उचाइ र ४५ किलोग्राम तौल हुनै पर्नेछ । एक पटक इजरायल गई काम गरेको कामदार दोस्रो पटक जानका लागि योग्य मानिने छैन । यस्तै, बाबु, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोवास गरेको वा कार्यरत रहेको कामदारले पनि इजरायलका लागि आवेदन दिन पाउने छैन ।विभागको अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्ने र त्यसका लागि शैक्षिक योग्यताको प्रमाणपत्र, केयरगिभरको तालिम लिएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

अनलाइन प्रणालीमा दर्ता भएका दरखास्त स्वीकृतरअस्वीकृत भए पश्चात आवेदकलाई प्रणालीमा दर्ता भएको मोबाइल नम्बररइमेलमा सूचना पठाइनेछ । अपुग कागजात अपलोड गर्न सिस्टमबाट उम्मेदवारलाई जानकारी गराइने र सिस्टमबाट अपलोड गर्नुपर्ने भनी जानकारी गराएका कागजात अपलोड नगरेमा दरखास्त अस्वीकृत हुने सूचनामा उल्लेख छ । त्यस्तै आधारभूत तहको अंग्रेजी भाषालाई समेत अनिवार्य गरिएको छ । तोकिएको न्यूनतम मापदण्ड नपुगेको दरखास्त अस्वीकृत हुने जनाइएको छ ।

त्यस्तै पासपोर्ट र प्रहरी रिपोर्ट समेत स्यानकपी आवेदन फारममा अपलोड गर्नुपर्छ । अनलाइनमा अपलोड गरिएका कागजत गलत ठहरिएमा कानुन अनुसार कारबाही हुने समेत विभागले चेतावनी दिएको छ । पहिलो चरणमा अनलाइन प्रणालीबाट स्वीकृत भएका उम्मेद्वारको सूची तयार पारिनेछ । छनोट समितिले योग्य उम्मेदवारको सूचीको अन्तिम रोष्टर तयार पारी पिबालाई जाँचबुझ (नेमचेक)  का लागि पठाउनेछ । जाँचबुझका क्रममा पिबाले कोही नातेदार तथा पहिला इजरायल गएको वा नगएको लगायतका विषय समेत हेर्नेछ ।पिवाको जाँचमा सफल भएका उम्मेद्वारहरूको सूची पाएपछि विभागले वेबसाइटमार्फत सार्वजनिक गर्नेछ । त्यसरी सार्वजनिक भएका उम्मेद्वारको सूचीबाट फेरि लक्की ड्रमार्फत कामदार छनोट हुनेछन् ।

छनोट भएकामध्ये पहिलो चरणमा १ हजार जनालाई यथाशीघ्र रोजगारी प्रक्रियामा समावेश गरिने विभागले जनाएको छ । बाँकी रहेका १ हजार ३ सय जनालाई पहिलो चरणको प्रक्रिया सकिएपछि पिवाले आवश्यकताका आधारमा रोजगारी प्रक्रियामा समावेश गराउनेछ ।लक्की ड्रमार्फत छनोट भएकाहरूले इजरायल सरकारले तोकेका स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य परीक्षण गराउनुपर्नेछ । त्यसरी कामका लागि इजरायल जाने केयरगिभरले मासिक पारिश्रमिकको १२. ५ प्रतिशत रकम रोजगारदाताले कामदारको नाममा खोलिएको बैंक खातामा विदेशी कामदार कोषमा जम्मा गर्नेछ ।