
सुनाखरी न्युज/ काठमाडौँ ।
काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् ।
काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किनेक्रम बढेको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले दसैँ मनाउनका लागि काठमाडौँका विभिन्न नाका हुँदै मङ्गलबार बिहानदेखि आज बिहानसम्म २४ घण्टामा ७८ हजार १३८ यात्रु बाहिरिएको जानकारी दिए ।
घटस्थापना सुरु भएदेखि हालसम्म सार्वजनिक सवारीसाधनको प्रयोग गरेर एक लाख ८७ हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९ यात्रु बाहिरिएका छन् ।
काठमाडौँबाट दसैँ मनाउनका लागि फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै यात्रु बाहिरिएका हुन् ।