
सुनाखरी न्युज/ काठमाडौं ।
अस्ट्रेलियामा रहेका आफ्ना छोरालाई भेट्न नेपालबाट सिड्नी पुगेकी एक नेपाली आमाको सिड्नी विमानस्थलमा ओर्लिएलगत्तै निधन भएको छ।अस्ट्रेलियन समयअनुसार, शुक्रबार बिहान सिड्नी विमानस्थल आइपुग्ने क्रममा अचानक बेहोस भएकी ठूली कान्छी तामाङको त्यहीँ निधन भएको हो ।
काठमाडौंको सुकेधारा निवासी तामाङ आफ्ना श्रीमानसँगै अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यअन्तर्गत पर्ने वागा वागामा बस्ने छोरा राजु तामाङलाई भेट्न त्यहाँ पुगेकी थिइन् । विमान अवतरण भएलगत्तै विमानस्थलमा उनी अचानक अचेत भएर ढलेकी थिइन् । अचेत भएर ढलेलगत्तै विमानस्थलमा रहेको मेडिकल टोलीले तत्कालै सीपीआर लगायतका प्राथमिक उपचार दिएर बचाउने प्रयास गरे पनि उनको निधन भएको हो ।
विमानस्थलमा खटिएका स्वास्थ्यकर्मी र आपत्कालीन टोलीले तत्कालै उद्धार र उपचारको प्रयास गरे तापनि उनलाई बचाउन सकिएन। घटनालगत्तै स्थानीय प्रहरीले वागा वागामा रहेका छोरा राजुलाई यस घटनाको जानकारी गराएको थियो। शव नेपाल लैजान गैरआवासीय नेपाली संघ अस्ट्रेलिया लगायतको सहयोगमा गो फन्ड मीबाट रकम जुटाइएको छ ।