२०८३ जेठ १० , आइतवार

ह्वाइट हाउस बाहिर गोली चल्दा एकको मृत्यु

Secret-Service-White-House-Gun-Fire-1024×563

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।

स्थानीय समय अनुसार शनिबार साँझ करिब ६ बजे ह्वाइट हाउस नजिकैको १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु क्षेत्रमा यो घटना भएको बीबीसीले जनाएको छ ।

गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय (सिक्रेट सर्विस) को जवाफी कारबाहीमा मारिएका छन् ।

अमेरिकी सिक्रेट सर्विसले जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार, ती व्यक्तिले अचानक आफ्नो झोलाबाट हतियार निकालेर जथाभाबी गोली चलाउन सुरु गरेका थिए । ड्युटीमा रहेका सिक्रेट सर्विसका प्रहरी एजेन्टहरूले तुरुन्तै जवाफी कारबाही गर्दै संदिग्धमाथि गोली चलाएका थिए । गोली लागेर गम्भीर घाइते भएका ती बन्दुकधारीलाई तत्कालै अस्पताल लगिएकोमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

एक महिना अघि मात्र ह्वाइट हाउसमै पत्रकारहरुका लागि आयोजना गरिएको डिनरमा पनि एक बन्दुकधारीले गोली चलाएको घटना सार्वजनिक भएको थियो, जसका कारण यस क्षेत्रको सुरक्षा संवेदनशीलता झन् बढेको छ ।

 

गोलीबारीको आवाज सुन्नासाथ ह्वाइट हाउस परिसरमा रहेका दर्जनौं पत्रकारहरूलाई सुरक्षाकर्मीहरूले सुरक्षित रूपमा ‘प्रेस ब्रिफिङ रुम’ भित्र लगेका थिए । त्यसपछि ह्वाइट हाउसलाई पूर्णरूपमा लकडाउन गरिएको थियो । घटनाको करिब एक घण्टापछि ९स्थानीय समय ७ बजे० मात्र लकडाउन खोलिएको थियो ।

सिक्रेट सर्विसका अनुसार घटनाको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै थिए । तर, यो घटनाबाट राष्ट्रपति वा अन्य कुनै विशिष्ट व्यक्तिको सुरक्षामा कुनै आँच नआएको र ह्वाइट हाउसको कार्यसञ्चालनमा कुनै असर नपरेको सीबीएस न्यूजले जनाएको छ ।

 

अमेरिकी सञ्चारमाध्यम सीबीएस न्यूजका अनुसार बन्दुकधारीले एक्लै गुप्तचर एजेन्टहरूलाई लक्षित गरी असफल आक्रमणको प्रयास गरेका थिए । प्रत्यक्षदर्शी र स्रोतहरूका अनुसार घटनास्थलमा १५ देखि ३० राउन्ड गोली चलेको आवाज सुनिएको थियो ।

घटनालगत्तै ह्वाइट हाउस वरपरका सडकहरूमा दर्जनौं प्रहरी र अन्य अधिकारीहरू परिचालन गरी सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।

सिक्रेट सर्विस र स्थानीय प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएका छन् । बन्दुकधारीको पहिचान र उनको उद्देश्यबारे थप विवरण आउन बाँकी छ ।