
सुनाखरी न्युज/ काठमाडौं ।
मादक पदार्थ सेवन मापसे गरेर सरकारी गाडी चलाउँदा दुर्घटना गराएका कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टलाई धनगढी उपमहानगरपालिकाले ३५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने भएको छ।गत शनिबार राति मेयर भट्टले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको सरकारी गाडी मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डको गेटामा दुर्घटना भएको थियो ।। मापसे गरेका अवस्थामा चलाइएको उक्त गाडी सडक छेउमा राखिएको रेलिङमा ठोक्किँदा संरचनामा क्षति पुगेको हो ।
धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालको सचिवालयका अनुसार प्राविधिक टोलीले गरेको मूल्याङ्कनमा रेलिङ मर्मत गर्न ३५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सोही आधारमा मेयर भट्टसँग उक्त रकम बराबरको क्षतिपूर्ति असुल गर्ने प्रक्रिया अघि बढाइएको हो ।
धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने जोसुकैबाट पनि क्षतिपूर्ति असुल गर्दै आएको छ ।यसअघि, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मेयर भट्टलाई मापसे गरेर गाडी चलाएको भन्दै ५ सय र लापरबाही गरेकोमा थप ५ सय गरी जम्मा १ हजार रुपैयाँ जरिवाना तिराएर गाडी छाडिसकेको छ।
धनगढी उपमहानगरपालिकाले ६ लेन सडकमा फूल रोपेर र बत्ती बालेर श्रृङ्गार गरिरहेका बेला छिमेकी नगरपालिकाका मेयरले नै मापसे गरेर संरचना भत्काएपछि स्थानीयले भने असन्तुष्टि जनाएका छन्। गोदावरी-५ कै स्थानीय भागीराम रानाले एउटा मेयरले सडक सजाउने र अर्कोले भत्काउने काम गरेको भन्दै दुःख व्यक्त गरे। मेयर भट्टको सचिवालयले भने क्षतिको आधारमा स्टमेट आएको र सोही अनुसार मर्मत वा क्षतिपूर्ति दिने जनाएको छ।