
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी व्यक्तिगत राजनीतिक उपलब्धि वा जीवनी लेख्ने उद्देश्यमा नभई देशको इतिहास बदल्ने यात्रामा रहेको बताएका छन्। प्रशिक्षण दिने कार्यक्रमको समापनमा बोल्दै उनले आफूलाई जीवनीप्रति कुनै रूचि नभएको बताए। ‘ मैले राजनीतिलाई धेरै ठूलो सपनाको रुपमा अघि सारेको थिएँ ।
नेताको रुपमा एउटा मान्छे सरकारको कुन तहमा पुग्छ भन्ने ठूलो कुरा होइन,’ सभापति लामिछानेले भने, ‘सरकारमा मन्त्रीका रुपमा रहला प्रधानमन्त्रीको रुपमा रहला त्यो ठूलो कुरा होइन । तर मुलुकलाई एउटा कस्तो नेतृत्व दिँदैछौं भन्ने ठूलो कुरा होइन ।’लामिछानेले प्रधानमन्त्री वा मन्त्री बन्नु ठूलो कुरा नभई मुलुकलाई कस्तो नेतृत्व दिइन्छ भन्ने नै महत्वपूर्ण विषय भएको बताए। उनले आफूलाई व्यक्तिगत राजनीतिक करियर निर्माण गर्ने चाहना नभएको पनि स्पष्ट पारे।
उनका अनुसार, “हामी जीवनी लेख्ने होइन, इतिहास लेख्ने यात्रामा छौँ।” उनले रास्वपा सांसदहरूलाई निरन्तर सिकाइ र सुधार प्रक्रियामा रहनुपर्नेमा जोड दिँदै राजनीतिक अभ्यासलाई मर्यादित र जनमुखी बनाउनुपर्ने आवश्यकता औँल्याए। लामिछानेले वर्तमान विश्व राजनीतिक परिवर्तनसँगै आफ्नो पार्टीको उदय भएको उल्लेख गर्दै यसलाई समाजको निरन्तर “विद्रोह” को परिणामका रूपमा व्याख्या गरे।