२०८३ बैशाख १६ , बुधवार

महावीर पुनको सम्पत्ति विवरण : २८ रोपनी जग्गा, २९ लाख नगद र ३ तोला सुन

Mahabir-Pun2025-02-19-19-57-46

 

सुनाखरी न्युज/ काठमाडौं ।

स्वतन्त्र सांसद तथा पूर्वमन्त्री महावीर पुनले सामाजिक सञ्जालमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आफूसँग बैंकमा जम्मा करिब २९ लाख रुपैयाँ नगद मौज्दात रहेको उल्लेख गरेका छन्। जसअनुसार नेपाल बैंक लिमिटेडमा करिब ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंक मा करिब २५ लाख रुपैयाँ रहेको जनाइएको छ।

उनका अनुसार नेपाल बैंकमा रहेको रकम साथीहरूको सहयोगबाट प्राप्त भएको हो भने राष्ट्रिय वाणिज्य बैंकमा रहेको रकम प्रतिनिधि सभा निर्वाचनका क्रममा प्राप्त सहयोगबाट बचेको हो। उक्त रकम म्याग्दीको बेनीस्थित सम्पर्क कार्यालय सञ्चालनमा प्रयोग गर्ने उनले बताएका छन्। पुनले आफूसँग करिब तीन तोला सुन रहेको उल्लेख गरेका छन्। उक्त सुन २०६० सालतिर खरिद गरी श्रीमतीलाई उपहार दिएको विवरणमा उल्लेख छ।

जग्गातर्फ उनले कास्कीको पोखरा महानगरपालिका–७ माझठानामा चार स्थानमा गरी करिब २८ रोपनी जग्गा रहेको बताएका छन्। उक्त जग्गा २०५२ सालमा करिब ४ लाख रुपैयाँमा खरिद गरिएको र त्यसको स्रोत विदेश ( अमेरिका ) बाट फर्किँदा बचत भएको रकम रहेको उल्लेख छ। हाल सो जग्गा राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि बिक्रीमा राखिएको तर अझै बिक्री हुन नसकेको उनले जनाएका छन्। पुनले आफ्नो आत्मकथा बिक्रीबाट अढाइ वर्षमा १८ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेका छन्।

२०८० असोजमा सार्वजनिक गरिएको आत्मकथाको हालसम्म २ लाख ५० हजार प्रति बिक्री भइसकेको छ।पुनका अनुसार उनले यो विवरण शिक्षामन्त्री हुँदा पनि बुझाएका थिए, तर उति बेलाको सरकारले सार्वजनिक गरिदिएन ।