
सुनाखरी न्युज/ काठमाडौं ।
विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहको मिलेमतोमा भएको सेयर कारोबारमा अन्य व्यापारीको समेत संलग्नता देखिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता र संस्थातर्फ हिमालयन रिइस्योरेन्स, हिमालयन क्यापसर्व, हिमालयन सेक्युरिटिज, एचएलआई लार्ज क्याप फन्ड र नेपाल माइक्रो इन्स्योरेन्स सहयोगी रहेको अनलाइन पोर्टल काठमाडौंपाटी डटकमले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा सुलभ अग्रवालका नाममा सेयर खरिद गरेको नदेखिएकाले आरोपित तथा सहयोगीका नामको सूचीमा उनको नाम छैन । बोर्डले गरेको अर्को अनुसन्धानमा भने सुलभलाई दोषी देखाइएको छ भने कारबाहीका लागि सिफारिस गरिएको छ ।
२५ फागुन २०८२ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्टको सेयर कारोबारबारे विवरण पठाउन धितोपत्र बोर्डलाई पत्र काटेको थियो ।
धितोपत्र बोर्डले तयार पारेको जाँचबुझ सुपरिवेक्षण प्रतिवेदनअनुसार भट्टसहित पाँच जना आरोपित र संस्था तथा व्यक्ति गरेर सात जना सहयोगीका रूपमा देखा परेका छन् । सुलभ अग्रवालकी श्रीमती शुभी अग्रवाल, जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, व्यवसायी ऋषिराज मोर र सन्दीप चाचान कसुरका आरोपित हुन् ।