२०८२ फाल्गुन २२ , शुक्रवार

अमेरिका र इरानबीच ६ घन्टा वार्ता

trump-and-khamenei-1749957358

सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी र इरानी अधिकारीबीच ६ घन्टा वार्ता भएको छ।

स्वीट्जरल्याण्डको जेनेभामा अमेरिकी र इरानी अधिकारीबीच लामो छलफल भए पनि सहमति भने नजुटेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दुई पक्षबीच अर्को साता पुनः वार्तामा बस्ने सहमति भएको छ।

यद्यपि वार्ता अवरूद्ध नभएको पनि अमेरिकी अखबार न्युयोर्क टाइम्सले जनाएको छ।

 

इरानी अधिकारीहरू र ओमानी मध्यस्थकर्ताहरूका अनुसार सम्भावित युद्ध टार्ने प्रयासस्वरूप संवादलाई निरन्तरता दिने समझदारी बनेको हो।

बिहीबारको वार्ता बिहान र साँझ गरी दुई चरणमा भएको थियो।

इरानका विदेशमन्त्री अब्बास अराक्चीले वार्तालाई सकारात्मक र प्रगतिशील भनेका छन्। उनले केही विषयमा समझदारी बनेको र केही विषयमा अझै मतभेद रहेको बताएका छन्। उनले प्राविधिक टोलीहरू आगामी सोमबार भियनामा संयुक्त राष्ट्रसंघीय आणविक निकायको मुख्यालयमा भेट्ने जानकारी दिए।

अमेरिका र इरानबीच वार्ताको मध्यस्थता गरिरहेको ओमानका विदेशमन्त्री बदर अल्बुशैदीले वार्तामा तुलनात्मक प्रगति भएको बताएका छन्। अब भियनामा हुने आगामी चरणमा आणविक, बैंकिङ र प्रतिबन्धसम्बन्धी प्राविधिक विज्ञहरू पनि सहभागी हुने जनाइएको छ, जसले वार्ता प्राविधिक तहमा प्रवेश गरेको संकेत गरेको छ।

वार्तामा अमेरिकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ज्वाँइ ज्यारेड कुश्नर सहभागी थिए। वार्ताको प्रगतिबारे विटकोफले अहिल्यै कुनै प्रतिक्रिया दिएका छैनन्। ह्वाइट हाउसले पनि वार्ताको अवस्थाबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

इरान वरपर अमेरिकाले विशाल नौसैनिक शक्ति खडा गरेको छ। यसले वार्ता सफल नभए अमेरिकाले इरानमा हमला गर्न सक्ने खतरा पनि छ। डोनाल्ड ट्रम्पले गत शुक्रबार इरानलाई सम्झौतामा सहमत हुनका लागि १५ दिनको अल्टिमेटम दिएका थिए।

ट्रम्पले इरानले आणविक हतियार उत्पादन क्षमतामा पुग्न नपाउने दोहोर्‍याउँदै युरेनियम समृद्धिकरण कार्यक्रम पूर्ण रूपमा बन्द गर्नुपर्ने अडान राखेका छन्।

अमेरिकाले इरानका तीन भूमिगत आणविक केन्द्र— फर्दो, नतान्ज र इस्फहान आणविक भट्टी स्थायी रूपमा बन्द गर्न माग गरेको कूटनीतिक स्रोतहरूले बताएका छन्।

ती केन्द्रहरू गत जुनमा इजरायल–इरानबीच १२ दिने युद्धका क्रममा अमेरिकाले बमबारी गरेर क्षतिग्रस्त बनाएको थियो।