
सुनाखरी न्युज/ काठमाडौं ।
करिब दुई सातादेखि नेपाली बजारमा देखिएको ग्यास अभाव देखिएको छ । बजारमा अहिले विशेषगरी नेपाल ग्यासको अभाव चरम रूपमा देखिएको हो । जसका कारण उपभोक्ता मारमा परेका छन् ।भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ। घरायसी प्रयोजनदेखि होटल, रेस्टुरेन्ट, साना उद्योगसम्म ग्यास अभावले जनजीवन प्रभावित भएको देखिन्छ।
बालाजु औद्योगिक केन्द्रमा उपभोक्ताको भिड:
ग्यास अभावको सबैभन्दा स्पष्ट चित्र काठमाडौँको बालाजु औद्योगिक केन्द्रमा देखीएको छ। यहाँ रहेको नेपाल ग्यासको कार्यालयमा बिहान सबेरैदेखि खाली सिलिन्डर बोकेर आउने उपभोक्ताको लाम लाग्ने गरेको छ। कार्यालयले बिहानदेखि दिउँसो २ बजेसम्म मात्र सीमित मात्रामा ग्यास वितरण गर्दै आएको छ। तर माग अत्यधिक हुँदा अधिकांश उपभोक्ता खाली सिलिन्डर बोकेर निराश फर्किनुपर्ने अवस्था छ। स्थानीयका अनुसार, विगत दुई सातादेखि यस्तै अवस्था दोहोरिँदै आएको छ।

