
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय सभाको १८ वटै सिट कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धनले एकलौटी गरेको छ । गठबन्धनबीच बाँडफाँट भएअनुसारै कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट जितेका हुन् ।
आइतबार निर्वाचन भएको १७ र १ निर्विरोधसहित गठबन्धनले जितेका हुन् ।
यो नतिजासँगै राष्ट्रिय सभामा दलहरूको ‘आकार र शक्ति’मा पनि हेरफेर भएको छ । कांग्रेस दोस्रोबाट पहिलो ठूलो दलमा उक्लिएको छ भने पहिलोमा रहेको नेकपा ८ सिट गुमाउँदै दोस्रोमा झरेको छ । एमाले तेस्रोमै यथावत् छ ।
कोशीमा कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध भएका छन् भने आइतबार भएको निर्वाचनमा एमालेकी रोशनी मेचे र सोमनाथ पोर्तेल विजयी भएका छन् । मधेशमा कांग्रेसका रञ्जित कर्ण र धर्मेन्द्र पासवान, एमालेकी रेखा झा तथा जसपा नेपालका महन्थ ठाकुर निर्वाचित भएका छन् । बागमतीबाट कांग्रेसकी गीता देवकोटा र एमालेका प्रेमप्रसाद दंगाल राष्ट्रिय सभा सदस्य चुनिएका छन् ।
यस्तै गण्डकीबाट कांग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटा राष्ट्रिय सभामा आएका छन् । लुम्बिनीबाट एमालेकी रामकुमारी झाँक्री र कांग्रेसका वासुदेव घिमिरे तथा चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । कर्णालीमा कांग्रेसका ललितजंग शाही र एमालेका मीनासिंह रखालले जितेका छन् । सुदूरपश्चिमबाट एमालेकी लीलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती राष्ट्रिय सभाका सांसद बनेका छन् ।