
सुनाखरी न्युज/ काठमाडौं ।
सोमबार सुनको मूल्य प्रतिऔंस ४,६८९.३९ अमेरिकी डलर (करिब ३,४९९ पाउन्ड) सम्म पुगेको थियो भने चाँदीको मूल्य प्रतिऔंस ९४.०८ डलरको उच्च विन्दुमा पुगेको छ। अनिश्चितताको समयमा सुन र चाँदीलाई सुरक्षित लगानीको रूपमा हेर्ने गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपालमा पनि वृद्धि भएको छ । यो क्रम अझै केही दिन लम्बिन सक्ने संकेत देखिएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण विश्व बजार सुनको भाउ बढ्ने र डलरको भाउ घट्ने संकेत देखिएको हो । ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पावेलमाथि सार्वजनिक रूपमा दबाब दिँदै ब्याजदर तुरुन्तै घटाउन आग्रह गरेपछि विश्व बजारमा व्यापक तरंग उत्पन्न भएको छ । यस्तो राजनीतिक हस्तक्षेपले लगानीकर्ता तथा अन्तर्राष्ट्रिय वित्तीय बजारबीच गहिरो चिन्ता जन्माएको छ । साथै अमेरिकी शेयर बजारमा गिरावट आयो, डलर कमजोर भयो, र लगानीकर्ताहरूले सुरक्षित लगानीको विकल्पको रूपमा सुनतर्फ आकर्षित हुँदा मूल्य आकशिएको छ ।
शनिबार ट्रम्पले डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स र फिनल्याण्डबाट आयात हुने वस्तुहरूमा १० प्रतिशत ट्यारिफ फेब्रुअरी १ देखि लागू हुने घोषणा गरेका थिए। उनले आवश्यक परेमा यो दर २५ प्रतिशतसम्म बढ्न सक्ने र ग्रीनल्यान्डसम्बन्धी सम्झौता नहुँदासम्म लागू रहने बताएका छन् । यसको प्रतिक्रियामा युरोपेली संघ ( ईयू) ले अमेरिकी आयातमा ९३ अर्ब युरो ( करिब ८० अर्ब पाउन्ड) बराबरको ट्यारिफ प्याकेज लगाउनेबारे विचार गरिरहेको समाचारहरू आएका छन्। ग्रीनल्यान्डसम्बन्धी विवादले लगानीकर्तालाई फेरि सुरक्षित लगानीतर्फ धकेलेपछि सुन र चाँदीको मूल्य थप बढेको हो । गत वर्ष मात्रै सुनको मूल्य ६० प्रतिशतभन्दा बढी ले बढेको थियो। यसको मुख्य कारण विश्वव्यापी तनाव, आर्थिक अनिश्चितता, ब्याजदर कटौतीको अपेक्षा, केन्द्रीय बैंकहरूले सयौँ टन सुन सञ्चित गर्नु तथा चाँदीका हकमा चीनले यसको निर्यातमा प्रतिबन्ध घोषणा गर्नु रहेका छन्।
ट्रम्पको फेडमाथिको दबाबले युरोपेली तथा एसियाली बजारहरूमा पनि असर पारेको छ । साथै युरोपेली सेयर सूचकांकहरू घटेका छन् भने बेलायती पाउन्ड सात महिनाको उच्च विन्दुमा पुगेको छ। यसले अमेरिकी मौद्रिक नीतिमा विश्वको निर्भरता र राजनीतिक अस्थिरताले त्यसमा पार्ने असरलाई झल्काउँछ । यस घटनाले संसारको प्रमुख आर्थिक शक्तिमा समेत राजनीतिक हस्तक्षेपले आर्थिक नीतिमा अस्थिरता निम्त्याउँछ, जसको असर अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष रूपमा देखिन्छ। लगानीकर्ताको मनोविज्ञान अस्थिर भएपछि सुरक्षित लगानीका लागि सुनजस्ता परम्परागत विकल्पले अझ आकर्षक गर्छ ।
सुनलाई प्रायः ‘सुरक्षित लगानी’ को रूपमा लिइन्छ। जब मौद्रिक नीतिमा अनिश्चितता आउँछ, ब्याजदर घट्ने सम्भावना हुन्छ, वा मुद्रास्फीति बढ्ने डर हुन्छ, त्यति बेला सुनको मूल्य बढ्ने गर्दछ। अहिले फेडमाथिको राजनीतिक हस्तक्षेपले लगानीकर्तामा भय सिर्जना गरिरहेको छ, जसले गर्दा सुनप्रति आकर्षण बढेको हो । विश्लेषकहरूका अनुसार यदि फेडमाथिको राजनीतिक हस्तक्षेप झनै तीव्र भयो वा अमेरिकी डलर थप कमजोर भयो भने सुनको मूल्य अझै उकालो लाग्न सक्छ । साथै, यदि अमेरिका वा चीनबीचको व्यापार तनाव पुनः चुलियो भने पनि सुनको माग अझै बढ्नेछ । यद्यपि, मूल्य यति चुलिएको अवस्थामा अचानक सुधार आउने सम्भावना पनि नकार्न सकिँदैन ।अन्तर्राष्ट्रिय मुद्रा कोष ( आईएमएफ) को पछिल्लो अनुदानअनुसार व्यापार तनाव विश्व अर्थतन्त्रको वृद्धिका लागि प्रमुख जोखिममध्ये एक हो। पछिल्लो ट्यारिफ धम्की आउनुअघि तयार पारिएको विश्व आर्थिक दृष्टिकोण प्रतिवेदनमा आईएमएफले विश्व अर्थतन्त्रलाई “स्थिर” भनेको भए पनि, एआई बूमको अन्त्य र व्यापार तनाव चर्किनु प्रमुख जोखिमका रूपमा औँल्याएको छ।