२०८२ फाल्गुन २३ , शनिवार

राष्ट्रिय सभा देखि प्रतिनिधी सभा निर्वाचन सम्मै सहकार्यको गृहकार्यमा कांग्रेस, एमाले र नेकपा

Prachanda-KP-Oli-Handshake-and-Deuba-1

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय सभासँगै आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धनका लागि  कांग्रेस, एमाले र नेकपाबीच कसरत सुरु भएको छ । राष्ट्रिय सभाका लागि गरिने गठबन्धनलाई प्रतिनिधिसभा निर्वाचनसम्मै विस्तार गर्ने रणनीतिमा तीन दल लागेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रिय सभाका रिक्त १९ मध्ये निर्वाचन हुने १८ सिटका लागि दुई दलबीच मात्रै गठबन्धन गर्ने सुरुवाती समझदारी थियो । दुई दल मिल्दा कांग्रेसले १० र एमालेले ८ सिट लिने भनिएको थियो । यसबीच देउवा र नेकपा संयोजक पुष्पकमल दाहालबीच छलफल भएपछि गठबन्धन अझै विस्तार हुने संकेत देखिएको हो ।

देउवासँग दाहालले नै संविधान निर्माणका बखत एकै ठाउँमा रहेका दलहरूबीच सहमति गरेर अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए । त्यसमा देउवा तत्कालै सकारात्मक भए । स्रोतका अनुसार ओली मानिरहेका थिएनन् ।

जब एमाले अध्यक्ष ओली र दाहालबीच आइतबार व्यवसायी शारदाप्रसाद अधिकारीको ललितपुर मानभवनस्थित निवासमा गोप्य वार्ता भयो, त्यसपछि ओली पनि उक्त प्रस्तावमा सहमत भएको स्रोतको भनाइ छ । ओलीसँगको सहमतिपछि दाहाल त्यसै दिन भारत गएका थिए ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका अनुसार संविधान निर्माणका बेला सँगै रहेका दलबीच तालमेल गर्ने मोटामोटी समझदारी भएको छ । यसबारे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जानकारी गराएको सिटौलाले बताए ।