
सुनाखरी न्युज/ काठमाडौं ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिमा ७ जना नयाँ सदस्यहरूलाई मनोनयन गरेको छ । आज ९आइतबार० बसेको केन्द्रीय समिति बैठकले पार्टी समायोजन पछि आएकामध्ये ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।
मनोनयन भएका सदस्यहरूमा समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा, रञ्जु दर्शना रहेका छन् । उनीहरू विवेकशील साझा पार्टी छाडेर गत मंसिर १४ गते रास्वपा प्रवेश गरेका थिए । बास्कोटा विवेकशील साझा पार्टीको अध्यक्ष थिइन् भने दर्शना महासचिव थिइन् । उनीहरू निशर्त रास्वपामा प्रवेश गरेका थिए ।
१३ वर्षअघि अभियानबाट सुरु भई दल बनेको विवेकशील साझा र ४० महिना अघि जन्मिएको रास्वपाबीच एकता भएको थियो । २०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो ।