२०८२ फाल्गुन २२ , शुक्रवार

अत्यधिक चिसो समयमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

MOH

सुनाखरी न्युज/ काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको छ ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई जोखिम बढी हुने भएकाले अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको हो ।

 

मन्त्रालयका अनुसार जाडोयाम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भएर विभिन्न क्षेत्रमा हुने शीतलहर, हुस्सु, कुहिरो र हिमपात आदिले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रुघा, खोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, शीतांग÷हाइपोथर्मियाका लक्षणहरू भएका बिरामीहरू बढ्ने गरेका छन् ।

 

 

चिसोका कारण उत्पन्न हुनसक्ने लक्षण वा रोगलाई न्यून गर्न तथा लाग्न नदिनका लागि धुवाँ–धुलोबाट बच्न, पोषणयुक्त सन्तुलित खाना खान, न्यानो लुगा लगाउन, भिटामिन–सी पर्याप्तमात्रामा भएका र मौसमअनुसारका ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खान, सरसफाइमा ध्यान दिने, प्रशस्त मात्रामा झोल पदार्थ खान पनि आग्रह गरेको छ ।

 

पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्ने वायु प्रदुषणले मुटु, फोक्सो, मस्तिष्कलगायत अंगहरूमा गम्भीर असर पार्नुका साथै दम, क्यान्सरजस्ता दीर्घ रोगको जोखिम र मृत्युदर बढाउने गरेको मन्त्रालयले जनाएको छ ।