
धरान १३ स्थित नेपाल पुलिस स्कुलद्वारा आयोजना गरिने ‘सातौँ कोशी प्रदेश अन्तरविद्यालय डीआईजीपी रनिङ फुटबल प्रतियोगिता २०८२’ को सम्पूर्ण तयारी पूरा भएको जनाईएको छ । पुस ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सातौँ संस्करणको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
उनका अनुसार, प्रभात सेकेण्डरी बोर्डिङ्ग स्कुल धरान, डिपोट सेकेण्डरी स्कुल धरान, सैनिक आवासीय महाविद्यालय धरान, माउन्ट हर्मन एकेडेमी धरान, सिद्दार्थ सेकेण्डरी स्कुल धरान, निधी सेकेण्डरी स्कुल विर्तामोड, दिल्ली पब्लिक सेकेण्डरी स्कुल विराटनगर, वाल्मिकी एजुकेशन फाउण्डेसन विर्तामोड, आदर्श ईङ्लिस स्कुल कानेपोखरी ७, सफल सिद्दार्थ एकेडेमी सुन्दरहरैचा, पिनाकल ज्ञान मन्दिर कानेपोखरी ४, बाल्मिकी मेमोरियल बोर्डिङ्ग स्कुल पथरी शनिश्चरे, ज्ञानोदय मावि धरान, भरौल बिद्या मन्दिर बराहक्षेत्र, नेपाल पुलिस रेड र नेपाल पुलिस ब्ल्युबीच प्रतिस्पर्धा हुनेछ ।
संयोजक प्रहरी निरिक्षक हायूले पहाडी ईलाकाका स्कुलहरुको लागि विशेष प्राथमिकतामा राखेको भएपनि सहभागिता जनाउन असमर्थ भएको बताए । उनले भने, ‘हामीले विशेष ईन्भाईट गर्यौ, भेट्न गयौं तर वहाँहरुले सहभागिता जनाउन चाहानु भएन ।’ संस्थागत र सामुदायिक दुवै स्कुललाई आयोजकले आह्वान गरेपनि सामुदायिक स्कुलबाट ज्ञानोदय माविमात्र रहेको छ । फस्ट- कम, फस्ट – सर्भिसको आधारमा सहभागिताको छनौटमा पनि धरान बाहिरको स्कुललाई प्राथमिकता राखिएको उनले जानकारी दिए ।
नेपाल प्रहरी बिद्यालय धरानको फुटबल खेल मैदानमा प्रतियोेगिता सञ्चालन हुने समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा यु–१७ र यु–१८ उमेर समूहभित्रका, कक्षा १० सम्म अध्ययनरत तथा एन्फाको कुनै पनि लिगमा सहभागी नभएका विद्यार्थी खेलाडीको सहभागी हुने पाउने छन् । प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागी विद्यालय टोलीको मार्चपास, तेक्वान्दो पुम्से प्रदर्शन, झाँकी प्रदर्शन तथा सांस्कृतिक नृत्य लगायतका विविध कार्यक्रमहरू प्रस्तुत गरिनेछन।