२०८२ फाल्गुन २६ , मंगलबार

योजनाको सफल कार्यान्वयन गर्न पौवादुङमाका ‘घर–घरमा अनुगमन’

pangdug

सुनाखरी न्युज/ काठमाडौं ।

यहाँको पौवादुङमा गाउँपालिकाले सञ्चालन गरिरहेका विविध विकास योजना तथा सेवाहरूको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन कार्यलाई तीव्र बनाएको छ । गाउँपालिकाले विगतमा सञ्चालन भएका योजनाको प्रभावकारिता, लक्षित वर्गले पाएका लाभ र आगामी योजनाको आवश्यकता पहिचान गर्न जनस्तरमै पुगेर तथ्यगत अध्ययन गर्ने अभियान सञ्चालन गरेको हो । गाउँपालिका अध्यक्ष किरण राईले गाउँ क्षेत्रमा कार्यान्वयन भइरहेका उन्नत जातका गाई–भैँसी वितरण, उन्नत बोका–बाख्रा तथा बङ्गुर प्रवर्द्धन कार्यक्रम, कृषि प्रविधि विस्तार, पूर्वाधार सुधार, स्वास्थ्यसेवा विस्तारलगायतका कार्यक्रमहरूको प्रभावकारिता सुनिश्चित गर्न अनुगमन अघि बढाइएको बताउनुभयो । “हामीले समुदायलाई प्रत्यक्ष लाभ हुने कार्यक्रमलाई प्राथमिकता दिएका छौँ । योजना सञ्चालनपछि जनजीवनमा आएको परिवर्तन, समस्या र भावी आवश्यकतालाई बुझ्नका लागि अनुगमनलाई थप सशक्त बनाएका हौँ”, उहाँले भन्नुभयो,“यसले कार्यक्रमको दुरुपयोग रोक्ने, लक्षित वर्गसम्म सेवा पुगे–नपुगेको मल्याङ्कन गर्ने वातावरण पनि बनाएको छ ।”

अनुगमन समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार अनुगमन टोलीले प्रत्येक वडामा पुगेर योजना कार्यान्वयनको अवस्थासँगै किसान तथा स्थानीयवासीले सामना गरिरहेका चुनौतीबारे पनि जानकारी दिइरहेको छ । “हामीले अनुगमनसँगै किसानलाई कृषि–पशु स्वास्थ्यसम्बन्धी सेवा, सल्लाह र प्राविधिक मार्गदर्शन पनि दिँदै आएका छौँ”, उहाँले भन्नुभयो । प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले नियमित अनुगमनले विगतमा सञ्चालन भएका योजनाको अवस्थाबारे यथार्थ तथ्य पत्ता लगाउन मद्दत गर्ने बताउनुभयो । “योजना सञ्चालन र अनुगमन दुवै सँगसँगै अघि बढेको छ । यदि कसैले वितरण भएका सामग्री प्रयोग नगरेको वा अनियमितता देखिएमा कारबाही गर्नेसम्मको व्यवस्था छ”, उहाँको भनाइ छ । भट्टराईका अनुसार नियमित अनुगमनले जनस्तरमा योजनाप्रति जिम्मेवारी, साझेदारीको भावना बढ्नाका साथै कार्यक्रमलाई निरन्तरता दिन पृष्ठपोषण प्राप्त भइरहेको छ ।
रासस