२०८३ कार्तिक ९ , आइतवार

ललितपुरको निर्माणाधीन लिफ्टसहितको आकाशे पुल चर्चामा

pool–768×400

सुनाखरी न्युज / काठमाडौं ।

ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल अहिले चर्चामा छ। निर्माण कार्य अन्तिम चरणमा पुगेको पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यद्यपि, सञ्चालन तथा उद्घाटनको निश्चित मिति भने सार्वजनिक भएको छैन।

ललितपुर महानगरपालिका–१३ स्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको उक्त पुलमा करिब चार करोड ६८ लाख रुपैयाँ खर्च भएको छ। २०८० फागुनमा निर्माण सुरु गरिएको पुल सम्झौताअनुसार एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

पुलमा दुवैतर्फ लिफ्टको व्यवस्था गरिएको छ । यसले विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामी तथा बालबालिकालाई सडक वारपार गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

व्यस्त चक्रपथमा पैदलयात्रीलाई सडक वारपार गर्न सहज बनाउनुका साथै दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले पुल निर्माण गरिएको हो । लिफ्टसहितको संरचनाका कारण पनि यो पुलले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ ।