
सुनाखरी न्युज/ काठमाडौं ।
विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्र गर्न थालिएको छ । व्यास–७, ९, १० र ११ वडालाई जोड्ने गरी चक्रपथ निर्माण गर्ने उद्देश्यले तीव्र गतिमा काम भइरहेको हो । उक्त मार्गको हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको नगरपालिकाले जनाएको छ । पराशर मार्गअन्तर्गत पर्ने बुल्दीखोला, घाँसीकुवा बेल्टारी, अँधेरी भन्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्तीसम्म १० दशमलव छ किलोमिटर कालोपत्र गरिनेछ । आयोजना निर्माणका लागि बिकेएचटि डिसिएल–एसिपिएल जेभी काठमाडौँले बोलपत्र प्रक्रिया पूरा गरी निर्माण थालेको व्यास नगरपालिकाका इञ्जिनीयर डा राजु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पराशर मार्ग, छाब्दी केशवटार र माहिन्द्री गरी तीन वटा मार्गका लागि प्रस्ताव पेस गरेकामा उक्त आयोजना छनोटमा परेको हो ।
व्यास–११ का वडाध्यक्ष दलबहादुर दुराले कालोपत्र सुरुवात भएसँगै स्थानीयमा उत्साह छाएको बताउनुभयो । कृषि उपजलाई बजारसम्म लैजान र सो क्षेत्रका बासिन्दालाई, हिलो, धुलो र खाल्टाखुल्टी नभएको यात्रा सहज बनाउने भएकाले उत्साह छाएको उहाँको भनाइ छ । नगरको योजना शाखा अधिकृत भेषराज तिवारीका अनुसार यो आयोजनाको लागि निर्माण कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु ४० करोड ८३ लाख ३५ हजार ९२१ मा ठेक्का पाएको छ । छनोट पश्चात् सहरी विकास मन्त्रालयले बजेटका लागि विश्व बंैकसँग सम्झौता गरेपछि नगरपालिकाले बोलपत्र आह्वान गरी बालेपत्र प्रक्रिया अघि बढाएको थियो । सडक सञ्चालनमा आएपछि बजारसम्मको सहज र छिटो पहुँच विस्तार हुनुका सामाजिक सेवा प्रदानमा सहज हुने व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । सहरीकरण बढ्दै जाने क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने क्रममा पराशर मार्ग छनोटमा परेको उहाँको भनाइ छ ।
रासस