
सुनाखरी न्युज/ काठमाडौं ।
जुम्लाको सिंजा गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समस्या भएको छ । गाउँपालिकाले प्रशासनिक भवन निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिए पनि निर्माण कम्पनीले तोकेको समय भित्र निर्माण नगर्दा सेवा प्रवाहमा समस्या भएको सिंजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीले बताउनुभयो । भवन पुरै निर्माण नहुँदा पालिकाका विषयगत शाखा भाडामा बस्न बाध्य भएका छन् । बारम्बार निर्माण कम्पनीलाई ताकेता गर्दापनि सम्झौता अनुसार निर्माण कम्पनीले काम गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत शाहीको भनाइ छ । २०७९ चैत १३ गते आरएनविजेभि शंखमुल ललितपुरसँग २०८१ असोज ३० गते अर्थात् १६ महिनाको समयावधिमा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने गरी भ्याटसहित ४ करोड ५८ लाखमा सम्झौता भएको थियो । हालसम्म जम्मा २ करोड ३९ लाख गाउँपालिकाले निर्माण कम्पनीलाई भुक्तानी समेत दिएको छ । १६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएपनि ।
विभिन्न चरणमा पालिकाले म्याद थप गरेपनि निर्माण कम्पनीले काम गर्न नसक्दा गाउँपालिकाको प्रशासकीय भवन अलपत्र परेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाहीले जानकारी दिनुभयो ।निर्माण कम्पनीका ठेकेदार सुरेन्द्र महतका अनुसार गाउँपालिकाले बजेटको सुनिश्चत नगर्दा काम सम्पन्न नभएको हो । करिब ७० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी ३० प्रतिशत काम मात्र रहेको छ । सम्झौता अनुसार गाउँपालिकाले भुक्तानीमा ढिलो गर्दा यो समस्या आएको आर.एन.वि.जे.भि.निर्माण कम्पनीका ठेकेदार महतले बताउनुभयो । विधित कारणले निर्माण कार्य सम्पन्न गर्न नसकी तेस्रो पटक उक्त निर्माण कम्पनीलाई म्याद थप गरी यहीँ मंसिर ३० गतेसम्म कार्य सम्पन्न गर्ने गरी केठेदारलाई निर्देशन दिएको सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले जानकारी दिनुभयो । तीन पटकसम्म म्याद थप गरिएपनि निर्माण कम्पनीको लापरबाहीले काम पुरा नगर्दा गाउँपालिकाको प्रशासकीय भवन निर्माणकार्य अलपत्र अवस्थामा रहेको सिंजा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । पालिकाले तीन पटक म्याद थप गरेर काम सम्पन्न गर्न निर्देशन दिएपनि ठेकेदारको लापरबाहीका कारण काम सम्पन्न नगरि भवन अलपत्र नै पारिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीले बताउनुभयो । ठेकेदार कम्पनीले तीन पटक थपिएको म्याद भित्रपनि काम सम्पन्न नभएको खण्डमा चौँथो पटक म्याद थप्न नसकिने सिंजा गाउँपालिकाले जनाएको छ ।
रासस