
सुनाखरी न्युज/ काठमाडौं ।
प्यालेस्टाइनले गाजा पट्टीका लागि अमेरिकाले तयार पारी संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले स्वीकृत गरेको प्रस्तावलाई स्वागत गरेको छ । जसले स्थायी युद्धविरामको पुष्टि गर्दै सहायताको निर्बाध प्रवेश र वितरण सम्भव बनाई प्यालेस्टिनी जनताको अधिकारलाई समर्थन गर्दछ ।प्यालेस्टाइनले गाजा पट्टीमा सामान्य जीवन पुनस्र्थापना गर्ने, गाजाबासीको सुरक्षा सुनिश्चित गर्ने, विस्थापन रोक्ने, इजरायली कब्जा बलहरूको पूर्ण फिर्ती सुनिश्चित गर्ने, पुन र्निर्माण गर्ने कार्यको आवश्यकतामा जोड दिएको छ । प्यालेस्टाइनले अमेरिकी प्रशासन, सुरक्षा परिषद्का सदस्यहरू, अरब र इस्लामिक देशहरू, युरोपेली सङ्घ र यसका सदस्य राष्ट्र संयुक्त राष्ट्र सङ्घ लगायत न्युयोर्क घोषणाका साझेदारहरूसँग सहकार्य गर्न तयार रहेको पुष्टि गरेको छ । जसले गाजा पट्टी, वेस्ट ब्याङ्क र पूर्वी जेरुसेलममा प्यालेस्टिनी जनताको पीडा अन्त्य गर्न मद्दत गर्ने र शान्ति र सुरक्षा प्राप्त गर्ने विश्वसनीय राजनीतिक प्रक्रियाको लागि मार्ग प्रशस्त गर्ने छ । प्यालेस्टाइनले गाजा पट्टीमा आफ्नो पूर्ण जिम्मेवारी ग्रहण गर्न तयार रहेको जनाउदै पट्टी प्यालेस्टाइन राज्यको अभिन्न अङ्ग भएको पुष्टि गरेको छ । प्यालेस्टाइनले शान्ति, स्थिरता र सुरक्षालाई बढावा दिई प्यालेस्टिनीको स्वतन्त्रता र आत्म रक्षाको लागि मिलेर काम गर्ने इच्छा व्यक्त गर्ने र सहयोग गर्ने सबै देशहरूको प्रशंसा गरेको छ ।
रासस/क्यूएनए