
सुनाखरी न्युज/ काठमाडौं ।
अर्थ मन्त्रालयले तीन वटा सुरक्षा निकायलाई २५१ वटा गाडी किन्न स्रोत सहमति दिएको छ।
जेनजी आन्दोलन क्रममा भदौ २४ गते धेरै सुरक्षा निकाय र सरकारी गाडीमाथि आगजनी र तोडफोड गरिएको थियो।
जेनजी प्रदर्शनपछि बनेको वर्तमान सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन तोकेको छ।
निर्वाचन र सुरक्षाका लागि आवश्यक पर्ने बजेटमा सम्झौता नहुने अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
मन्त्रालय मातहतका प्रयोगका लागि थप गाडी नकिन्ने निर्णय गरे पनि सुरक्षा निकायका लागि भने अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो।
६ वटा गाडी राष्ट्रिय अनुसन्धान विभागका लागि, १७५ वटा नेपाल प्रहरीका लागि र ७० वटा सशस्त्र प्रहरीका लागि किन्न स्रोत सहमति दिएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी गराए।