२०८३ आश्विन १४ , बुधवार

सुनचाँदीको बिक्रीमा लाग्ने ०-५ प्रतिशत सीप प्रवर्द्धन शुल्क सम्बन्धी नयाँ कार्यविधि जारी (कार्यविधि सहित)

IRD

सुनाखरी न्युज/ काठमाडौं ।

सुनचाँदीका गरगहना तथा वस्तुको बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न  आन्तरिक राजस्व विभागले नयाँ कार्यविधि जारी गरेको छ ।

विभागले ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी गर्दै सुन, चाँदी तथा तिनका गरगहना र वस्तु अन्तिम उपभोक्तालाई बिक्री गर्दा बिक्री मूल्यको ०।५ प्रतिशत सीप प्रवर्द्धन शुल्क लाग्ने व्यवस्था गरेको हो ।

आर्थिक ऐन, २०८३ को दफा १४ मा नेपालमा उपभोक्तालाई सुन, चाँदी तथा तिनका गरगहना र वस्तु बिक्री गर्दा बिक्री मूल्यमा सीप प्रवर्द्धन शुल्क लगाई असुल गर्ने व्यवस्था राखिएको थियो । सोही व्यवस्थाअनुसार विभागले शुल्कको प्रशासन, असुली, दाखिला, कारोबारको लेखांकन, विवरण पेस, परीक्षण तथा पुनरावेदनसम्बन्धी व्यवस्था समेटेर कार्यविधि जारी गरेको विभागका सूचना अधिकारी केशव रघुवंशीले जानकारी दिए ।

कार्यविधिअनुसार नेपालमा उपभोगका लागि बिक्री हुने सुन वा सुनका गरगहना तथा वस्तु र चाँदी वा चाँदीका गरगहना तथा वस्तुको अन्तिम उपभोक्तालाई बिक्री गर्दाको बिक्री मूल्यमा शून्य दशमलव पाँच प्रतिशत सीप प्रवर्द्धन शुल्क लाग्नेछ । यस्तो शुल्क वस्तु बिक्री गर्दाकै समयमा असुल गर्नुपर्नेछ ।

कार्यविधिले बिजक जारी गर्नेदेखि कारोबारको लेखाङ्कन र मासिक विवरण पेस गर्नेसम्मका व्यवस्था पनि गरेको छ । सीप प्रवर्द्धन शुल्क लाग्ने कारोबार गर्ने व्यवसायीले तोकिएको ढाँचामा बिजक जारी गर्नुपर्नेछ ।

कारोबारको लेखांकन प्रोद्भावी ९एक्रुअल० आधारमा गर्नुपर्ने तथा प्रत्येक महिनाको कारोबार भएको वा नभएको जे भए पनि अर्को महिनाको २५ गतेभित्र सम्बन्धित राजस्व कार्यालयमा मासिक विवरण पेस गर्नुपर्नेछ ।

तोकिएको समयभित्र विवरण पेस नगरेमा लाग्ने सीप प्रवर्द्धन शुल्कको प्रतिदिन शून्य दशमलव ०५ प्रतिशत वा प्रतिविवरण रु एक हजारमध्ये जुन बढी हुन्छ, सोहीबराबरको थप शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

 

कार्यविधिले पुरानो सुन, चाँदी तथा सुनचाँदीका गरगहना खरिद गरी सोही ग्राहकलाई नयाँ गरगहना बिक्री गर्ने अवस्थालाई समेत स्पष्ट गरेको छ । ग्राहकबाट पुरानो गरगहना खरिद गरी सोही ग्राहकलाई पुरानो गरगहनाको तौल बराबरको मूल्यसम्म नयाँ गरगहना बिक्री गर्दा सीप प्रवर्द्धन शुल्क लाग्ने छैन । तर, पुरानो तौलमा थप गरी नयाँ गरगहना बिक्री गरेमा थप गरिएको सुन वा चाँदीको मूल्य तथा सम्पूर्ण ज्याला–जर्तीमा सीप प्रवर्द्धन शुल्क असुल गर्नुपर्नेछ ।

व्यवसायीले आफ्नो पसलबाट गरगहना निर्माणका लागि कालीगढकोमा तथा कालीगढबाट व्यवसाय सञ्चालन भएको स्थानमा सुन, चाँदी तथा सुनचाँदीका गरगहना वा वस्तु ओसारपसार गर्दा सम्बन्धित कार्यालयको छाप लागेको तोकिएको ढाँचाको चलान साथमा राख्नुपर्नेछ । त्यस्तो गरगहना निर्माण गर्ने कालीगढले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ ।