२०८२ फाल्गुन २५ , सोमवार

भेनेजुएलानजिकै लागुऔषध बोकेको डुङ्गामा अमेरिकी आक्रमण, ६ को मृत्यु

US Navy Destroyer USS Sampson docked in Panama amid regional tensions with Venezuela

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलानजिकै समुद्रमा लागूपदार्थ ओसारिरहेको आशङ्कामा एक सानो डुङ्गामाथि गरिएको हवाई आक्रमणमा ६ जनाको ज्यान गएको पुष्टि गर्नुभएको छ । राष्ट्रपति ट्रम्पका अनुसार यो डुङ्गा ‘नार्कोटेररिस्ट नेटवर्क’ सँग सम्बन्धित थियो र एक चिनिएको लागूपदार्थ मार्गमा रहेको खुफिया सूचनाका आधारमा लक्षित गरिएको हो । उक्त आक्रमणको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ, जसमा डुङ्गा एक प्रक्षेपास्त्रको प्रहारबाट विस्फोट भएको देखिन्छ । आक्रमणपश्चात डुंगा आगलागी भएको अवस्थामा देखिन्छ । अमेरिकी पक्षका कुनैपनि सुरक्षाकर्मीलाई क्षति पुगेको छैन ।

यो आक्रमण हालसम्म ट्रम्प प्रशासनद्वारा गरिएका यस्ता पाँचौं कारबाहीमध्ये एक हो, जसमा राष्ट्रपति प्रशासनले लागूपदार्थ ओसारपसारमा संलग्नहरूलाई ‘अवैध लडाकु’को रूपमा मान्दै सैन्य कारबाही गरिरहेको छ । पूर्व अमेरिकी राजदूत जेम्स स्टोरीले यस्ता आक्रमणहरूले अमेरिका र त्यसका साझेदार राष्ट्रहरूबीचको खुफिया साझेदारीमा नकारात्मक असर पर्न सक्ने बताउनुभएको छ । यसैबीच अमेरिकी संसदमा पनि यस विषयमा बहस चर्किएको छ । केही सांसदहरूले राष्ट्रपति ट्रम्पले यस्ता कारबाही गर्न कानुनी अधिकार राख्दैनन् भनी जिकिर गरेका छन् । सेन्टर अडम शिफले भन्नुभयो,“यी कारबाहीहरूले अमेरिका एक खुला युद्धमा तानिने जोखिम पैदा गर्छ।” भेनेजुएलाको तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले प्रेस सम्मेलनमार्फत आक्रमणको निन्दा गर्दै अमेरिकाले ‘झूटा बहानामा आक्रमणको आधार बनाउँदैछ’ भन्ने आरोप लगाएका छन् ।
रासस/एपी