
सुनाखरी न्युज/ काठमाडौं ।
अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा शनिबार बिहान भएको सानो विमान दुर्घटनामा विमानभित्र सवार तीन जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएकाअनुसार, उक्त विमान सिड्नीबाट करिब ८५ किलोमिटर दक्षिण तर्फ रहेको सेलहार्बर विमानस्थलमा बिहान करिब १० बजे ( स्थानीय समयअनुसार ) मा उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको हो ।
‘विमान भुइँमा ठोक्किएपछि आगलागी भएको थियो, जसलाई फायर एन्ड रेस्क्यु न्यू साउथ वेल्सका टोलीले नियन्त्रणमा ल्याए,’ प्रहरी वक्तव्यमा भनिएको छ, ‘तीन जना यात्रुहरूको मृत्यु पुष्टि गरिएको छ ।’
अष्ट्रेलियन ब्रडकास्टिङ कर्पोरेसन ( एबीसी) ले प्रसारण गरेको दृश्यमा रनवेमा ध्वस्त भएको विमानको जलेको अवशेष देखाइएको छ । प्रहरीका अनुसार, दुर्घटनास्थललाई अपराधस्थलको रूपमा तोकिएको छ र अष्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्यूरो ( एटीएसबी ) लाई यसबारे जानकारी दिइएको छ ।