२०८२ फाल्गुन २३ , शनिवार

आज बुधबारदेखि भन्सारमा सन्दर्भ मूल्य हट्दै, यथार्थ बिलका आधारमा कारोबार हुने

rameshour khanal

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले वस्तु आयातमा सन्दर्भ मूल्यका आधारमा लिँदै आएको भन्सार परिवर्तन गरी वास्तविक बिजकका आधारमा भन्सार लिने प्रणाली सुरु गर्न लागेको छ ।

अर्थमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनाल बुधबार विराटनगर गएर अनलाइन मूल्यांकन डेटाबेस सुरुवात गर्ने छन् ।

त्यसका लागि भन्सार विभागले अनलाइन भ्यालुएसन डेटाबेस नामक अनलाइन प्रणाली बुधारदेखि पाइलटिङका रूपमा कार्यान्वयनमा ल्याउने छ ।

 

विराटनगरबाट यो डेटाबेस कार्यान्वयनमा ल्याउने र त्यहाँको अनुभवका आधारमा देशका सबै भन्सारमा लागु गर्दै जाने भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले बताए ।

अनलाइन भ्यालुएसन डेटाबेस प्रणाली भनेको आयातित वस्तुको भन्सार मूल्य घोषणा सम्बन्धी तथ्यांक संकलन, स्टोर र विश्लेषण गर्ने प्रणाली हो, जसले भन्सार कार्यालयलाई त्यस्ता वस्तुको कम मूल्यांकन हुने जोखिम घटाउन सहयोग गर्छ ।

 

 

भन्सारमा २०६४ सालदेखि नै सन्दर्भ मूल्यको चलन भए पनि २०७५ मा ‘भन्सार मूल्यांकन निर्देशिका’ मार्फत यसलाई अनिवार्य जस्तै गरी लागु गरियो । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको पहलमा यो लागु भएको थियो ।

त्यसअघि सामान्य सन्दर्भ मूल्यका आधारमा भन्सार लिने गरिएकोमा खतिवडाले देशभरि यसलाई अनिवार्य लागु गरेका थिए । तर, यसो गर्दा अद्यावधिक कारोबार मूल्य अभावमा कुनै सामानको वास्तविक मूल्यभन्दा सन्दर्भ मूल्य बढी हुने, कुनैको कम हुने समस्या थियो । आयातकर्ताले आयात गर्दा तिरेको मूल्य एकातिर हुने एवं सन्दर्भ मूल्य अर्कातिर हुने भएपछि त्यसबाट आयातकर्ताले सास्ती बेहोर्नुपरेको थियो ।

 

नयाँ अनलाइन डेटाबेस प्रणाली लागु गरेपछि त्यसले आयातकर्ताको मनोबल बढाउने पनि व्यवसायीले अपेक्षा गरेका छन् । चालु आर्थिक वर्षको बजेटमा समेत सन्दर्भ मूल्य हटाएर यथार्थ मूल्यांकन प्रणाली सुरु गर्ने व्यवस्था गरिएको छ ।