२०८२ फाल्गुन २६ , मंगलबार

सुडानको इआरआर आपत्कालीन नेटवर्कलाई नर्वेको राफ्टो मानव अधिकार पुरस्कार

Capture

सुनाखरी न्युज/ काठमाडौं।

युद्ध र अनिकालको चपेटामा परेका सुडानीहरूलाई सहयोग पुर्‍याउँदै आफ्नो जीवन जोखिममा राख्ने ‘इमर्जेन्सी रेस्पोन्स रुम्स’ (इआरआर) स्वयंसेवकहरूको नेटवर्कलाई बुधबार नर्वेको प्रतिष्ठित ‘राफ्टो मानव अधिकार पुरस्कार’ प्रदान गरिएको छ । सन् २०२३ अप्रिलदेखि नियमित सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएपफ) बीचको भीषण युद्धले सुडानलाई ध्वस्त पार्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार द्वन्द्वमा दशौँ हजारको मृत्यु भइसकेको छ र एक करोड ४० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । अनिकाल र हैजाले देशलाई थप सङ्कटग्रस्त बनाएको छ । राफ्टो फाउन्डेसनले इआरआरलाई ‘सबैभन्दा मौलिक मानव अधिकार–जीवनको अधिकारको संरक्षणका लागि गरेको साहसी कार्य’ को सम्मानस्वरूप पुरस्कार दिएको हो । युद्ध सुरु भएलगत्तै, राज्य र पूर्वाधारविहीन देशमा समुदायका नागरिकहरूले स्वयंसेवकका रूपमा ‘सामुदायिक भान्सा’ (कम्युनिटी किचेन) स्थापना गरेर छिमेकीलाई खाना, स्वास्थ्य सेवा र निकासी सहयोग उपलब्ध गराएका थिए । सन् २०१९ मा तानाशाह ओमार अल–बशीरको पतनताका प्रजातन्त्र समर्थक आन्दोलनमा सक्रिय प्रतिरोध समितिहरूबाट विकसित इआरआर अहिले हजारौँ स्वयंसेवकहरूको अभियान बनेको छ ।

“इआरआरहरूले जीवन बचाउँछन्, निराशामाथि मानव गरिमा कायम राख्छन् र अभिनव पारस्परिक सहायता मार्फत नागरिक समाजलाई बलियो बनाउँछन्”, राफ्टो फाउन्डेसनले भनेको छ । सञ्चार अवरोध र पत्रकारहरूको न्यून उपस्थिति बीच स्वयंसेवकहरूले आक्रमणहरूको दस्तावेजीकरण गर्ने महत्त्वपूर्ण भूमिका खेलेका छन् । तर उनीहरू बारम्बार हिंसा, बलात्कार, कुटपिट र लुटपाटको शिकार बनेका छन् । द्वन्द्व सुरु भएदेखि एक सयभन्दा बढी स्वयंसेवक मारिएको फाउन्डेसनले जनाएको छ । यससँगै, दुवै पक्षलाई युद्धविराम गर्न, नागरिक जीवनको सुरक्षा गर्न र अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्मान गर्न आग्रह गरिएको छ । सन् १९८७ देखि दिइँदै आएको यो पुरस्कार नर्वेली मानव अधिकार कार्यकर्ता थोरोल्फ राफ्टोको नाममा स्थापना गरिएको हो । यसमा २० हजार डलरको राशिसहित सम्मान गरिन्छ । यसअघि यो पुरस्कार पाएका आङ सान सुकी, जोस रामोस–होर्टा, किम दाए–जङ र शिरिन एबादीले पछि नोबेल शान्ति पुरस्कार समेत जित्नुभएको थियो । यस वर्षको पुरस्कार विजेताको औपचारिक घोषणा अक्टोबर १० मा ओस्लोमा हुनेछ ।
रासस/एएफपी