
सुनाखरी न्युज/ काठमाडौं ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज बसेको प्रदेशको शान्तिसुरक्षा सम्बन्धीको बैठकले जेन–जीलगायत नयाँ पुस्ताबाट उठाइएका जायज मागप्रति छलफल र संवादको माध्यमबाट समस्या समाधान गर्न सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले उनीहरुका मागप्रति प्रदेश सकार, सरकारी निकाय र संयन्त्र सकारात्मक रहेको सन्देश दिई छलफल तथा संवादको माध्यमबाट समस्या समाधान गर्न सार्वजनिक आह्वान गर्ने निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । बैठकले सुरक्षा संवेदनशीलता हेरी शान्तिपूर्ण वातावरण निर्माण गर्नका लागि सबै जिल्लामा आवश्यकताअनुसार राजनीतिक दल, नागरिक समाज एंव सरोकारवालाहरुसँग छलफल तथा समन्वय गर्ने गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ । साथै बैठकले यही भदौ २३ गते आयोजना गरेको कार्यक्रमको क्रममा ज्यान गुमाउनु हुने मृतकहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकमा कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित चारै तहका सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो ।
रासस