
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रधानमन्त्री केपी शर्माओली र गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । सो पार्टीको केन्द्रीय सचिवालयको सोमबार बसेको आकस्मिक बैठकले ‘जेनजी’ पुस्ताका युवाहरूको आन्दोलनका सन्दर्भमा विशेष प्रस्तावसहित पारित गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । प्रवक्ता ज्वालाका अनुसार बैठकले सामाजिक सन्जाल बन्द गर्ने, बोल्ने र प्रश्न गर्ने अधिकार नियन्त्रण गर्ने सरकारको अभिव्यक्ति स्वतन्त्रता विरोधी गलत निर्णयको निन्दा र विरोध गरेको छ ।त्यस्तै सरकारी दमनको निन्दा एवं भर्त्सना गर्दै दमन बन्द गर्न र वार्ताबाट आन्दोलनकारीका जायज माग पूरा गर्दै समस्या समाधान गर्न सरकारसँग माग गरेको एकीकृत समाजवादीले आन्दोलनलाई उत्तेजना र मुठभेडतर्फ लगेर आन्दोलनको गरिमा र यसले प्राप्त गरेको जनसमर्थन दुरुपयोग हुन नदिन आन्दोलनकारी युवाहरूलाई अपिल गरेको छ । आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जायज मागहरूको समर्थन गरेको उक्त पार्टीले सामाजिक सन्जाल बन्द गरिएपछि युवाहरूमा उत्पन्न असन्तुष्टि र आक्रोश भ्रष्टाचार र कुशासनविरोधि आन्दोलनको रूपमा अघि बढेको कुरा जायज भएको बताएको छ ।