२०८२ फाल्गुन २७ , बुधवार

‘राज्यले सर्वोत्कृष्ट कर्मचारी पाउन नसक्नुले सुशासन कायम नभएको सङ्केत गर्छ’

prachanda-baikuntha-aryal-mukhya-sachib-1024×599

सुनाखरी न्युज/ काठमाडौं ।

राज्यले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी पाउन नसक्नु भनेको सार्वजनिक निकायमा सुशासन कायम गर्न नसकेकोतर्फ सङ्केत गर्ने सरोकार भएकाहरूले बताएका छन् । निजामती सेवा दिवसका अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित दिवस समारोहमा सहभागीहरूले आ–आफ्नो जिम्मेवारी बोध गरी मर्यादामा रहेर सबैले काम गरेमा सर्वोत्कृष्ट कर्मचारी प्रशस्त भेटिनेमा जोड दिएका हुन् । सुर्खेत जिल्ला अदालतका न्यायाधीश दिपक ढकालले करिब एक दशकसम्म सर्वोत्कृष्ट कर्मचारी राज्यले पाउन नसक्नु दुःखद् विषय भएको बताउनुभयो । विसं २०७३ पछि राज्यले सर्वोत्कृष्ट कर्मचारी भनेर पुरस्कृत गर्न नसकेको जनाउँदै “के राज्यमा सर्वोत्कृष्ट पुरस्कार दिन लायकका कर्मचारी छैनन ?”, उहाँले प्रश्न गर्नुभयो । उहाँले सरकारले मुलुकमा सकारात्मक काम गर्ने कर्मचारी खोजेर पुरस्कृत गर्ने र गलब गर्नेलाई दण्डित गर्ने संस्कृति र पद्दतिको विकास गरेमा सुशासन कायम हुने धारणा राख्नुभयो । यसका लागि सबै सरोकार भएकाहरूले पदीय जिम्मेवारीअनुसार पारदर्शी रूपमा कार्यसम्पादन गर्नुपर्नेमा न्यायाधीश ढकालले जोड दिनुभयो ।

कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव लक्ष्मीबहादुर विकले राजनीतिक नेतृत्व र सरकारले जनअपेक्षामुखी काम गर्न सकेमात्र जनताको जीवनस्तरमा सुधार आउने धारणा राख्नुभयो । जनताको जीवनमा सकारात्मक परिवर्तन हुँदै भएमा राज्यप्रति विश्वास बढ्दै जाने उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले सेवा प्रभावबाट सुशासन कायम गरी जनताको मुहारमा खुसी ल्याउनसक्ने अवस्थाले ‘व्यावसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने नाराले सार्थकता पाउने धारणा राख्नुभयो । उहाँले मुलुकको विकास, समृद्धि र उन्नतिका लागि राजनीति र प्रशासनबीच मित्रताको सम्बन्ध स्थापित हुनुपनमा जोड दिनुभयो । प्रजिअ उपाध्यायले भन्नुभयो, “स्थायी सरकार र राजनीतिज्ञबीच सुमधुर सम्बन्ध हुन जरुरी छ । दुवै पक्षबीचको सम्बन्ध, सहकार्य र समन्वयमा सुशासनसहित पारदर्शी र उत्तरदायी सेवा प्रवाहमा ऊर्जा प्राप्त हुन्छ ।”

आजै प्रमुख जिल्ला अधिकारीसहित ३४ जनाले रक्तदान गरेका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार डिभिजन वन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा आज भानुपार्कको उत्तरमा रहेको पुरातात्विकस्थलमा ५२ वटा पारिजातका बिरुवा रोपिएको छ । त्यस्तै, दिवसका अवसरमा कार्यालय प्रमुखद्वारा रकम सङ्कलन गरी मानव सेवा आश्रम र प्रशान्ति वृद्धाश्रम सुर्खेतमा खाद्यान्न वितरण गरिएको छ । त्यसैगरी, नेपाल निजामती कर्मचारी युनियनले प्रशान्ति वृद्धाश्रम र नेपाल निजामती कर्मचारी सङ्गठनले मानव सेवा आश्रमका आश्रितलाई भोजन गराएको प्रशासकीय अधिकृत पौडेलले जनाउनुभयो ।
रासस