
सुनाखरी न्युज/ काठमाडौं ।
अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति ६.० म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु नाङ्गरहार प्रान्तको राजधानी जलालाबादबाट करिब २७ किलोमिटर टाढा रहेको जनाइएको छ। पाकिस्तानको सीमा नजिकै अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयानुसार राति ११: ४७ गएको ६. ० तीव्रताको भूकम्पमा ११५ भन्दा बढी घाइतेको उपचार भइरहेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ ।
स्थानीय अधिकारीका अनुसार मृतक र घाइतेहरू नान्गारहार र कुनार प्रान्तका बासिन्दा हुन्। दुर्गम पहाडी क्षेत्रमा घरहरू भूकम्प प्रतिरोधी नहुँदा क्षति अझ बढी हुन सक्ने अनुमान गरिएको छ। भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल ( करिब २०० किलोमिटर टाढा ) र पाकिस्तानको राजधानी इस्लामाबाद ( करिब ४०० किलोमिटर टाढा ) मा समेत महसुस गरिएको थियो।
कुनार प्रान्तका प्रहरी प्रमुखले बीबीसीसँग कुरा गर्दै भूकम्पपछि पहिरो र बाढीका कारण सडक अबरुद्ध भएको र उद्धार कार्य हवाईमार्गबाट मात्र सम्भव रहेको बताएका छन्। तालिबान सरकारका अधिकारीहरूले उद्धार तथा राहत कार्यका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै हेलिकप्टर र स्रोतसाधन उपलब्ध गराउन विश्व समुदायसँग आग्रह गरेका छन्।