
सुनाखरी न्युज / काठमाडौं ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको आर्थिक अनियमितता पुष्टि गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले चुनौती दिँदै विमानस्थल निर्माणमा गुणस्तरमा केही सम्झौता नगरेको उनले बताए ।
हिजो पोखरामा भएको विमानस्थल अनुगमन तथा पत्रकारसँगको अन्तर्क्रियामा सहभागी भएका अधिकारीले विमानस्थल निर्माण सम्झौता बाहेक विमानस्थलमा दुई वटा बोर्डिङ ब्रिज थपिएको र पोखराको भूगोललाई ध्यान दिई ३४ सेन्टिमिटर बाक्लो कङ्क्रिटको प्रयोग गरी रनवे र ट्याक्सी वे निर्माण गरिएको जुन ५० औँ १०० औँ वर्षसम्म पनि केही नहुने उनले जनाए ।
विमानस्थलको गुणस्तर र भौगोलिक अवस्थाले अन्तर्राष्ट्रिय स्तरको बनाइएको पोखरा विमानस्थल हाल आन्तरिक उडानमा मात्र सीमित छ।हालसम्म चार्टर उडानबाहेक नियमित रूपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय उडान मार्फत पोखराको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने पोखरेलीको सपना सपनामै सीमित हुनुपरेको छ ।पोखरेली जनताको पटक पटकको आन्दोलन र दबाबपछि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न त भयो, तर अपेक्षा अनुसार सञ्चालनमा आउन सकेको छैन।

