२०८२ फाल्गुन २७ , बुधवार

‘बाल सङ्गठनलाई पुनर्जीवित गराउन प्रदेश सरकारले सहयोग गर्ने’

Hikmat_Karki_CM_Koshi_Province1679969670

सुनाखरी न्युज/ काठमाडौं ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल बाल सङ्गठनलाई पुनर्जीवित गराउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धा जनाउनुभएको छ । नेपाल बाल सङ्गठन नक्साल काठमाडौँद्वारा आज विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले बाल सङ्गठनलाई नयाँ ढङ्गले पुनर्जीवित गरेर अगाडि बढाउन सके बालबालिकाको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने धारणा राख्नुभयो । उहाँले सङ्गठनका विभिन्न जिल्लामा भएका संरचना उपयोगमा ल्याई अगाडि बढ्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री कार्कीले बालबालिका हाम्रो भविष्य र हाम्रो सपना भएकाले उनीहरूलाई असल संस्कार र समाजप्रति उत्तरदायी बनाउनका लागि सङ्गठनले सहयोगी भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रदेशस्थित सङ्गठनको भौतिक संरचना र सम्पत्तिको अध्ययन गरी प्रतिवेदन पेस गर्न सामाजिक विकास मन्त्रालयलाई उहाँले निर्देशन दिनुभयो । मुख्यमन्त्री कार्कीले प्रतिवेदनका आधारमा आगामी दिनमा प्रदेश सरकारले आफ्ना नीति र कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सङ्घीय सरकारको हातेमालोबाट मात्रै प्रदेशमा बाल सङ्गठनलाई अगाडि बढाउन सकिने धारणा राख्नुभयो । नेपाल बाल सङ्गठनकी केन्द्रीय अध्यक्ष विद्या उपाध्याय न्यौपानेले सङ्गठनको नाममा रहेको झापाको सरणामतीस्थित जग्गामा बालग्राम निर्माण गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । सङ्गठनका मोरङका अध्यक्ष नवीन पहाडी र उदयपुर अध्यक्ष भुवन दाहालले असाहय बालबालिकाको उचित शिक्षा दिनुका साथै उनीहरूको सर्वाङ्गीण विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । एक दिने भेलामा प्रदेशका १३ जिल्ला सङ्गठनका अध्यक्ष, सचिव, बालबालिकाका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता छ ।
रासस