
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग गर्नुभएको छ । सिँचाइका लागि अत्यावश्यक ठूला र राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा पूरा नहुँदा सुक्खा क्षेत्रका नागरिक समस्यामा परेका सांसदहरुले गुनासो गर्नुभयो ।बैठकमा विशेष समयमा सांसद युवराज शर्माले राष्ट्रिय गौरवका आयोजनालाई समयमै पूरा गर्ने गरी प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो । उहाँले मधेश सुक्खाग्रस्त क्षेत्र बन्दै गएको समयमा चुरे क्षेत्रका ढुङ्गा र गिट्टी निकासी रोक्नुपर्नेमा जोड दिनुभयो । सांसद शर्माले कानुनी शासनको प्रत्याभूूति गराउनुपर्ने र सरकारी निकायमा खर्च कटौतीको प्रस्तावलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो ।
सांसद मायाप्रसाद शर्माले भारतको उत्तराखण्डमा गएको भीषण बाढीमा परेर नेपाली नागरिक बेपत्ता भएको जानकारी गराउँदै उनीहरुको खोजी तथा उद्धारको पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । यही साउन २० गते भारतको उत्तराखण्डको उत्तरकाशीको धराली गाँउमा आएको बाढीका कारण २२ नेपाली सम्कर्पविहिन भएको र त्यसमा जाजरकोट , बर्दिया र धादिङका नागरिक परेको उहाँले उल्लेख गर्नुभयो । सांसद शर्माले निर्वाचन आयोगले अगाडि सारेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ प्रति आपत्ति व्यक्त गर्दै राजनीतिक दलको मूल्याङ्कन नेपाली जनताले निर्वाचन मार्फत गर्ने तर्क गर्नुभयो । निजामती सेवा विधेयकलाई शिघ्र अगाडि बढाउन माग गर्नुभयो । सांसद मोहम्मद खालिदले भारतको उत्तराखण्डको बाढीमा परेर बेपत्ता भएका नेपाली नागरिकको खोजी गर्न आवश्यक पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
रासस